Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

महानगरमा महाभिडन्त

महानगरमा महाभिडन्त

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न अन्तिम दिन सोमबार सबै ठूला साना दलले आ-आफ्नो हैसियतअनुसार विभिन्न तह र पदमा मनोनयन दर्ता गरे । तर सबैको नजर भने स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै मतदाता संख्या ६ वटा महानगरपालिकामा नै रहेको थियो । यिनै महानगरका मेयर र उपमेयरका उम्मेदवार चयन सबै दलका लागि टाउको दुखाइको विषयसमेत बन्यो । 

सोमबार मनोनयन दर्ताको अन्तिम समयसम्म पनि सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायत प्रमुख प्रतिपक्षी दल एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै अन्य साना दलले महानगरहरुमा आफ्नो उम्मेदवार चयन गर्न ठूलै कसरत गरे । महानगरको चुनावी परीणाम आफ्नो पक्षमा पार्न सत्ता गठबन्धनले एक किसिमको रणनीति तय गरेर अगाडि बढेको देखिन्छ भने नेकपा एमालेले पनि यसलाई प्रतिष्ठाको लडाइँकै रुपमा लिएको देखिन्छ।

स्थानीय तहमा बजेट, मतदाता संख्या र प्रतिष्ठाका हिसाबमा सबैभन्दा महत्त्वपूर्ण काठमाडौं महानगरपालिकामा अन्तत: सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ । संघीय राजधानीसमेत रहेको काठमाडौंको उपमेयरमा भने गठबन्धनले एकीकृत समाजवादीकातर्फबाट रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनायो । मुख्य गरेर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच नै प्रतिष्पर्धा हुने देखिएको महानगरमा एमालेले भने २०५४ सालमा मेयर भइसकेका विवादित छवीका केशव स्थापितलाई मेयरमा र मिस नेवा:को ताज पहिरिएकी सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ।

काठमाडौं महानगरपालिकामा दुई प्रमुख दलका प्रतिस्पर्धी बाहेक मेयर पदमा स्वतन्त्र उम्मेदवार बलेन्द्र शाहको पनि चर्चा कम छैन। सांगीतिक दुनियाँको 'र्‍याप' विधामा बालेन शाहका रुपमा आफ्नो छवी बनाएका उनले प्रमुख दलका उम्मेदवारलाई राम्रै चुनौती दिन सक्छन्। यसअघिको चुनावी इतिहास हेर्दा र्‍यापर बालेनले मेयर पदमा बाजी मार्न कठिन भए पनि उनले पाउने मतले सिंह वा स्थापितको जित-हारमा भने ठूलै अर्थ राख्नसक्छ ।

काठमाडौं उपत्यकाकै अर्को महानगर ललितपुर महानगरपालिका पनि सत्ता गठबन्धनबाट कांग्रेसकै भागमा परेको थियो । कांग्रेसले यहाँ उम्मेदवार छान्न धेरै माथापच्ची गरेन र हालकै मेयर चिरीबाबु महर्जनलाई पुन: उम्मेदवार बनाएको छ। उता यहाँको उपमेयर भागमा परेको माओवादी केन्द्रले भने बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।

मेयरको उम्मेदवारलाई लिएर सबैभन्दा धेरै विवाद र बहस भएको भरतपुर महानगरपालिका सत्ता गठबन्धनमा अन्तत: माओवादीकै भागमा पर्‍यो । माओवादी केन्द्रले ठूलै रस्साकस्सी पछि पाएको यो पदमा आफ्नो अध्यक्ष पुष्पकमल दाहालकै छोरी रेणु दाहाललाई सहर्ष दियो भने भागमा उपमेयर पाएको कांग्रेसले चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ ।

एमालेले जसरी पनि सत्ता गठबन्धनबाट पुन: मेयरको उम्मेदवार बनेकी दाहाललाई पराजित गर्ने रणनीति अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठजोड गर्दै मेयरमा आफ्नो दलका विजय सुवेदीलाई उम्मेदवार बनायो । राजेन्द्र लिङदेन अध्यक्ष भएसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको राप्रपाले आफ्नो भागमा परेको उपमेयरमा भने हिमला गुरुङलाई उम्मेदवार बनाएको छ ।

पोखरा महानगरमा पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले दुवैलाई उम्मेदवार छान्न ठूलै रस्साकस्सी भयो । एमालेले सुरुमा दीपक पौडेललाई मेयर पदमा र उपमेयरमा पुन: मञ्जु गुरुङलाई नै दोहोर्‍याउने बताएको थियो । तर, मञ्जु गुरुङले आफूलाई फेरि उपमेयरमा उठ्ने इच्छा नै नभएको भनेर उम्मेदवारी नै नदिने बताइन् भने दीपक पौडेलले 'सुन चोरेको' भिडियो भाइरल बन्यो ।

त्यसपछि एमालेले त्यहाँ मेयर पदको उम्मेदवार परिवर्तन गर्दै प्रदेश सांसद कृष्णबहादुर थापालाई बनायो । थापा मेयरमा उठ्ने भएपछि भने मञ्जु गुरुङ उपमेयरमै दोहोरिन तयार भइन् ।

सत्ता गठबन्धनबाट मेयरको पद पोखरामा एकीकृत समाजवादीको पोल्टामा थियो । त्यहाँ समाजवादीले धनराज आचार्यलाई मेयर पदमा उठाएको छ भने कांग्रेसले उपमेयरमा कोपिला रानाभाटलाई उठाएको छ ।

यस्तै कांग्रेसका कोइरालाहरुले आफ्नो विरासतका रुपमा लिने विराटनगरको मेयर पद पनि सत्ता गठबन्धनबाट उसैको पोल्टामा थियो । तर अन्तिम समयसम्म पनि सभापति शेरबहादुर देउवालाई त्यहाँको उम्मेदवार चयन गर्न हम्मेहम्मे पर्‍यो । अन्तत: उनले शेखर कोइराला पक्षका नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाए । उता जनता समाजवादी पार्टीले भने विराटनगरमा आफ्ना अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनायो ।

प्रमुख प्रतिपक्षी एमालेले भने मेयरमा महानगर कमिटी अध्यक्ष सागर थापालाई उम्मेदवार बनाएको छ भने उपमेयरमा महानगर कमिटीकै उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उठाएको छ ।

वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले राजेशमान सिंहलाई उठाएको छ । यस्तै, उपमेयरमा भने कांग्रेसले इम्तियाज आलमलाई उठाएको छ । प्रमुख प्रतिपक्षी एमालेले वीरगन्जको मेयरमा यसअघिकै विजय सरावगीलाई नै उठाएको छ भने एमालेसँग वीरगन्जमा तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, वीरगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पत्रकार गिरिश गिरीले पनि मेयर पदमा उम्मदवारी दिएका छन् ।

समग्रमा सबै महानगरमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी बीच नै प्रतिस्पर्धा हुने देखिन्छ । पोखरा र भरतपुरका सत्ता गठबन्धनको कांग्रेसतर्फ भने ठूलै असन्तोष रहेको छ । त्यसै कारण पोखरा र भरतपुरमा अन्य स्थानीय तहको तुलनामा धेरै बागी उम्मेदवारी पनि परेको छ । उम्मेदवारी फिर्ता लिन आझै केही दिन बाँकी रहेकाले केहीको उम्मेदवारी अन्तिममा फिर्ता हुने सम्भावना पनि छ । तर, सत्ता गठबन्धनका शीर्ष नेताहरुको आफन्त मोह भने महानगर उम्मेदवारीमा छताछुल्ल भएको छ ।

प्रतिक्रिया