Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

ओली पक्षले थाल्यो एमाले पुनःस्थापना

ओली पक्षले थाल्यो एमाले पुनःस्थापना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पूर्व एमाले पुनःस्थापनामा लागेको छ । सर्वोच्च अदालतले नेकपा नामको विवादमा आइतबार गरेको फैसला लगत्तै ओली समूह नेकपा एमाले पुनःस्थापनामा लागेको हो । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकता भएर तीनवर्ष अघि नेकपा बनेको थियो ।

आइतबार नै बसेको आफू पक्षीय संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले छिट्टै एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने बताएका थिए । उनले अदालतको फैसला कार्यान्वयन गर्दै एमाले ब्यूत्याउने बताएका थिए ।  


त्यसको भोलिपल्टै विभिन्न स्थानमा नेकपाको कार्यालयमा रहेको बोर्ड हटाएर एमालेको बोर्ड राख्न थालिएको छ ।

मोरङमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एमालेको बोर्ड राखिएको छ । एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार एमालेको बोर्ड टांगिएको छ ।


त्यस्तै नुवाकोटमा पनि ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् । तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं वाग्मती प्रदेश सांसद बद्री मैनालीको नेतृत्त्वमा बोर्ड राखिएको हो ।

त्यसैगरी, ओली समूहले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्ने तयारी गरेको छ । कार्यालयका सचिव ईश्वरी रिजालले मंगलबार अथवा बुधवार बोर्ड राख्ने जानकारी दिए ।

“भोलि या पर्सीसम्ममा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्छौं”, उनले   भने । एमाले र माओवादी एकीकरण अघि धुम्बाराही नेकपा एमालेको कार्यालय थियो । पार्टी एकतापछि धुम्बाराहीमा केन्द्रीय कार्यालय बनाइएको थियो ।

प्रतिक्रिया