कोरोना संक्रमणको एक वर्ष : बम्बैको भरोसा टुट्यो

घरपरिवारको सबै गुजारा चलाउने बाटो नै बन्द भएपछि अछामको ढकारी गाउँपालिका  वडा नम्बर ४ का सेतु कामी चिन्तित छन् । भारतमा रोजगारी गर्ने उनका श्रीमानले एक वर्षअघिसम्म हरेक महिनाको १५ गतेभित्र भारतको मुम्बईबाट उनका घरखर्चका लागि पैसा पठाउँथे । उनी एक महिना पुग्ने बित्तिकै मुम्बईबाट पैसा आउने समय हेर्थिन् । त्यहि रकमले उनको परिवारको रोजिरोटी चलेको थियो । तर, सेतुको परिवारमा पैसा आउने स्रोत बन्द भएको एक वर्ष पुगिसक्यो । ‘बम्बैमा नौलो रोग आयो भनेर श्रीमान् घर आए । अब कसो गर्ने होला’ सेतुले भनिन्– मेरा र छोराछोरीका रहर पुरा त कहिल्यै भएनन् । अब त साहुको ब्याज तिर्न पनि नसकिने भयो ।

घरको मुख्य कमाउने मान्छे नै बेरोजगार भएपछि साँझ बिहानको छाक टार्नै धौधौ भइरहेको उनी बताउँछिन् । अरु बेला प्रदेश (विदेश) गएका श्रीमान् घर आउँदा ग्रामीण भेगका महिलाहरु खुसी हुन्थे, तर अहिले समय फेरिएको छ । उहिले उनीहरु श्रीमान घर फर्केकोमा चिन्तित हुने गरेका छन् । भारतमा रोजगारीमा रहेका श्रीमान्, छोरा, भतिजाहरु प्रायः नयाँ वर्ष, दशैंतिहार तथा माघी त्यार वा फागु पर्वमा घर फर्किने गर्दछन् । दुई मौसममा खेतिपाती लगाएर फेरी कमाउनका लागि भारत जाने गर्दछन् । तर अहिले समय बदलिएको छ । भारतमा रोजगारीमा गएका ढकारी गाउँका अधिकांस पुरुषहरु अघिल्लो वर्ष (२०७६ साल) को मंसिरमा गहुँ खेति लगाएर फेरि भारत गएका थिए । विश्वभरी कोरोना भाइरस महामारी फैलिन थाल्यो । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, पञ्जाब सहितका राज्यमा कोरोना दिनप्रतिदिन अचाक्ली बढ्न थाल्यो । कामधन्दा बन्द भयो । बाच्नका लागि नेपालीहरु चैतको शुरुदेखि नै गाउँ फर्किन थाले । त्यसपछि निम्न वर्गीय परिवारमा तनाव, अभाव र भोकमरीको अवस्था सिर्जना भएको छ । घर आएपछि कहिले फर्किने टुंगो छैन । नफर्किएपछि घरबार कसरी चल्छ ? गाउँका अधिकांस यहि चिन्ताले पिरोलिएका छन् । 

‘पहिले चाड पर्वमा आउने गर्थे । रमाइलो हुन्थ्यो । अहिले रोगबाट बच्नका लागि श्रीमान् घर आए । उनको कमाइले घरपरिवारको गुजारा भइरहेको थियो । अब कसरी चलाउने होला ?’ अछामको बलाँता गाउँकी कला साउद भन्छिन्– ‘एक महिनाको दुर्ई÷तीन पटक त छोराछोरी बिरामी नै हुन्छन् । अब त उपचार गर्न सक्ने अवस्था पनि छैन ।’

अछामकै मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिबण्डालीकी लाली थापा अघिल्लो चैत (२०७६ साल) मा गाउँकै अन्य महिलासँग भारत जाने सुरसारमा थिइन् । अरुका श्रीमान्, छोरा भतिजा, आफन्तहरु भारतमा गएका कारण गाउँका महिलाहरु पनि जान थालेका छन् । गहुँ बाली भित्र्याएपछि लाली उपचारका लागि भारतको पुणे शहरमा जाने सुरमा थिइन् । तर भारतमा कोराना महामारी फैलियो । उनका श्रीमान् घर फर्किए । लाली घरमै रोगसँग जुधिरहेकी छिन् । उनको पेट दुख्ने,  हात खुट्टा दुख्ने समस्या छ । उनले जिल्ला अस्पतालमा सामान्य उपचार गरिन् । उनलाई थप उपचारका लागि धनगढी वा नेपालगंज जान डाक्टरले सल्लाह दिएका थिए । तर, उनी जान सकिनन् । भन्छिन्– ‘हाम्रा लागि मंगलसेन बाहेक अरु ठाउँ बिरानो जस्तै छ । श्रीमान् पुणेमा थिए । उतै गएर उपचार गरुला भन्ने सोचेकि थिए,   अब घरमै रोग पालेर बस्नु परेको छ ।’ 

भारतका विभिन्न राज्य वा शहरमा आफ्ना छोरा भतिजा, श्रीमान्, आफन्तहरु रोजगारीका लागि जाने भएकाले यहाँका अधिकांस महिला पनि उपचारका लागि उत्रै जाने गर्दछन् । एक वर्षदेखि फैलिएको कोरोना महामारीका कारण भारतमा रहेका सबैका आफन्त डरले घर फर्किएका छन् । अछामको कुन्तीबण्डालीका जानकी थापाले भनिन्– ‘गत माघमा भारतमै मेरो पत्थरीको अप्रेसन भयो । डाक्टरले तीन महिनापछि फेरी आउनु भनेका थिए । तर, अहिले श्रीमान घर फर्किसके । अब थप उपचारका लागि कहाँ जाउँ ? ’

घर त फर्के, गुजारा पो कसरी चलाउने ? 

अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ का दिपक नेपाली अघिल्लो चैत्रमा रोजगारीका लागि भारतको उत्तर प्रदेश गए । उनलाई रोजगारी खोज्न एक महिना लाग्यो । बल्लतल्ल अर्को महिना एउटा होटेलमा काम पाए । तर, कोरोना महामारीका कारण होटेल नै बन्द भयो । रोजगारी गुमाएपछि उनी बाध्य भएर उ नेपाल फर्के । होटेल बन्द भएपछि उनको रोजगारी मात्र गुमेन, सा“झ बिहानको छाक टार्न समेत मुस्किल भयो । ‘आफू मात्रै भए त जेनतेन गुजारा चलाउ“थे, तर, घरमा आमा बुवा, श्रीमती र छोराछोरीको गुजारा कसरी चल्छ ?’ उनी भन्छन् । 

घर फर्किएपछि दीपक खेतीबारीमा जुटे । उनीसँगथोरै जग्गा मात्रै छ । खेतीपातीबाट मुस्किलले दुइ÷तीन महिनाको गुजारा चल्छ । फेरि उस्तै हालत । गाउँमा रोजगारी छैन । खेतीपाती गरु भने पनि जग्गा छैन । घरको मुख्य कमाउने मान्छे नै घरमौ बेरोजगार भएर बसेपछि परिवारको गुजारा कसरी गर्ने ? भन्ने चिन्ता त हुने नै भयो । उनी भन्छन्– ‘परिवारको पालनपोषणका लागि भारतमा रोजगारी गरेर कमाउने मान्छे नै बेरोजगार भएपछि समस्यामाथि समस्या थपिएको छ । ’

मंगलसेन नगरपालिका वडा नम्बर ७ का लक्ष्मण दमाई पनि कोरोना महामारीका कारण हतारमा भारतबाट घर फर्केको एक वर्ष भइसकेको छ । घर फर्किएकाहरुमध्ये केही फेरि भारत गए पनि बेरोजगार बस्नु परेकोे खबर सुनेपछि लक्ष्मणले उता जाने आँट गर्न सकेनन् । ‘भारतमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन निकै बढ्न थालेपछि म पनि आत्तिएर घर फर्के । लत्ताकपडा र अरु सामान पनि ल्याउन पाइन । निकै दुःखकष्ट गरेर घर पुगे । तर अहिलेसम्म बेरोजगार छु’ उनले थपे । 

लक्ष्मणका बाउबाजेले पनि जीवनभरी भारतमै रोजगारी गरेका थिए । थोरै जमिनजग्गा भएका कारण खेतीबाट वर्षभरी गुजारा गर्ने उब्जनी हँुदैन । ‘पुग्दो खेतबारी भएको भए त्यहि खनेर पनि गुजारा चल्थ्यो होला । अहिले साह्रै तनाव भएको छ ’ लक्ष्मणले भने– ‘मेरा बाउबाजेले पनि भारतमै काम गरेर गुजारा चलाए । म पनि उतै गएँ । अब के गरु ? साह्रै तनाव भएको छ । ’

मंगलसेन नगरपालिका वडा नम्बर ५ का सेते कामीको कथाव्यथा पनि उस्तै छ । उनी भारतमा रोजगारीका लागि जान थालेको ३० वर्ष भइसक्यो ।  यो अवधिमा उनी कुनै एउटै निश्चित स्थानमा बसेनन् । न त उनको कुनै स्थायी प्रकृतिको काम नै थियो । जहाँ काम पायो, त्यतै जानु उनको बाध्यता बनेको थियो । उनी भन्छन्– कुनै एउटै ठाउँमा काम थिएन । होटलमा भाँडा माझ्नेदेखि, गाडी सफा गर्ने, होटलमा सरसफाई गर्ने सबै काम गरे । जे काम गरे पनि यो अवधिमा परिवारको पालनपोषणमा कमी आउन दिइन । विश्वभरी कोरोना फैलियो । भारतमा पनि दिन दुनि रात चौगुनिका दरले कोरोना भाइरस संक्रमण फैलिन थाल्यो । भारतका महाराष्ट्र, दिल्ली, गुजरात, पञ्जाब, लखनउ आदि स्थानमा रोजगारी गरिरहेका नेपालीहरु धमाधम घर फर्किन थाले । सेते पनि गत चैत्रमा आत्तिएर घर फर्किए । 

‘घर आएको एक महिना भयो । उता कमाएको रकमले अहिलेसम्म जेनतेन धान्यो । अब अब के गर्ने ? परिवारको कसरी दुई छाक टारुँ ? भन्ने चिन्ताले पिरोलेको छ’ उनले भने– ‘आफ्नै गाउँघरमा खेतिपाती गर्नुप¥यो भनेर धेरै जना भन्छन् । मैले आफूसंग भएको जग्गा कहिल्यै बा“झो राखिन, तर खेतीपातीबाट दुईतीन महिना पनि धान्दैन ।’ २०७४ सालमा चुनावको करिब सात महिना सेते पनि गाउँमै बसे । उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने ठाने । तर, उनी निराश बने । गाउँघरमा कुनै काम पाउन नसकेपछि उनी बाध्य भएर फेरि उतै (भारत) तिर हान्निए ।

त्यतिवेलाको समय स्मरण गर्दै उनले भने– ‘चुनाव भयो । म पनि अब गाउँमै केही काम पाइन्छ भन्ने आशमा सात महिना गाउँमै बसे । गाउँमा विकास निर्माण योजना आउन थाले । तर, त्यस्तो काम पाउन नेताहरुसँग पहुँच हुनुपर्दो रहेछ । गाउमा विकास निर्माण कार्यका लागि उपभोक्ता समिति बन्दा पनि नेता, जनप्रतिनिधि निकटका मान्छे मात्रै आउदा रहेछन् । हामी जस्ता सर्वसाधारणलाई कसले वास्ता गर्ने ? ’त्यस्तै अनुभव मंगलसेन नगरपालिका वडा नम्बर ५ का भक्त बहादुर विकको पनि छ । उनी पनि गाउँका अरु व्यक्तिहरु झैं हरेक वर्ष वर्ष मंसिरतिर रोजगारीको खोजीमा भारत जाने, नयाँ वर्षमा घर फर्किने र वर्षेखेती लगाएर फेरि साउन भदौमा भारत जाने गर्दै आएका थिए । ‘खेतीपाती गर्ने सिजनमा एक महिना जति घर बस्थ्यौ र फेरि जान्थ्यौं’ उनी भन्छन्– ‘गाउँमै खेतीपाती गरुँ भने धेरै जमिन छैन । भएको जग्गा पनि सिंचाईको व्यवस्था नभएका कारण हिउदमा प्रायः बाँझो हुन्छ । उब्जनी छैन । कसरी परिवारको गुजारा गर्ने ? केही ठेगान छैन । ’

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीसँगै मान्छेको जीवनमा व्यापक फेरवदल आउन थालेको छ । भारतका विभिन्न राज्य वा शहरमा वर्षौदेखि रोजगारीका लागि जाने सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दाहरु अहिले कसरी गुजारा गर्ने ? भन्ने सकसमा देखिन्छन् । सुदूरपश्चिम प्रदेशका अछामलगायत सबै नौ जिल्लाका मानिस प्रायः कामको खोजीमा भारतका विभिन्न शहर, स्थान चहार्ने गर्दै आएका छन् । भारतमा कुल्ली, चौकीदार, वाचमेन, होटल मजदुर, सहितका निम्न स्तरका काममा लाग्ने गरेका उनीहरु कोरोना महामारीसँगै बेरोजगार बनेका छन् । 

अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका मोहन साउद पनि अहिले बेरोजगार बनेर गाउमै भौतारिरहेका छन् । उनी रोजगारीका लागि भारत जान लागेको २१ वर्ष भइसकेको छ । उनी हरेक वर्ष एक÷दुई पटक घर फर्किने गर्दथे । यो अवधिमा उनको पनि कुनै स्थायी प्रकृतिको काम थिएन । उनी पनि कहिले होटलमा भाँडा माझ्ने, कहिले गाडी धुने, कहिले होटलमा सरसफाई गर्ने गर्दथे । भारतमा कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिन थालेपछि उनी पनि अघिल्लो चैत ७ गते घर फर्किए । घर पुग्न निकै सास्ती बेहोर्नुप¥यो । 

मोहन बल्लतल्ल घर त पुगे । तर, घरमा आएपछि फेरि उस्तै चिन्ता । गहुँ भित्राउने वेला भइसकेको थियो । उनी बाली भित्राउन लागे । उनी सम्झिन्छन्– ‘घर आएपछि दुई साता त गहुँबाली भित्राउन मै व्यस्त भएँ । लकडाउन अवधि छोटो भइहाल्ला जस्तो लागेको थियो । एक महिना जति घरमा बसेर फेरि भारत फर्किउला भन्ने लागेको थियो, तर भएन । ’
निम्न वर्गका मोहनको परिवार उनको भारतको रोजगारीमै निर्भर रहदै आएको थियो । उनी भन्छन्– ‘खेतबारी धेरै छैन । आफ्नो उत्पादनले एक महिना पनि धान्दैन । रोजीरोटी चल्ने भनेको भारतबाटै हो । एक वर्ष बढि भइसक्यो, अहिलेसम्म कुने रोजगारी पाएको छैन । दिनहरु तनावमै वित्छन् । ’

त्यस्तै अवस्था अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का रणबहादुर शाहीको पनि छ । उनी त अहिले डिप्रेशनको अवस्थामा पुगेका छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएर भारतबाट फर्केपछि उनी अहिले कसरी घरपरिवारको लालनपालन गर्ने भन्ने चिन्ताले पिरोलिएका छन् । रणबहादुरका सात जना छोराछोरी छन् । कलिलो उमेरदेखि नै भारतमा रोजगारी गर्न गएका उनी अहिले ठूलो पछुतोमा छन् । भन्छन्– ङभारत नगएर गाउँमै बसेर केही गरु भन्ने कहिल्यै सोचिएन । अहिले पछुताउनु परेको छ ।’ उनले थपे– ‘सात जना छोरीछोरी छन् । ऋण माग्दा कसैले पत्याउँदैनन् । छोराछोरी ठूला हँुदै गएका छन् । बालबच्चालाई स्कुल पढाउनै प¥यो । सोच्दा सोच्दै हैरान भइसकेँ।’

अहिले फेरि कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । गाउँमा कोरोना रोकथामका लागि प्रयास भइरहेका छन् । उनले भने– ‘गाउँमा अहिले सबै कोरोना भाइरसलाई गाउ“ पस्न नदिने प्रयासमा लागेका छन् । तर, रोजगारी गुमाएर भारतबाट फर्किएकाहरुका बारेमा कोही पनि सोच्दैनन् । ’

भौंतारिदै भारतबाट फर्केकाहरु 

अघिल्लो वर्ष कोरोना महामारी फैलिएपछि भारतका विभिन्न स्थानमा रोजगारी गरिरहेका नेपालीहरु धमाधम घर फर्किए । चारपाच महिना घरमा बसेपछि गत दर्शैतिहारमा फेरि भारत पस्नेहरुको लर्को लाग्यो । अहिले कोरोनाको दोस्रो लहर फैलिएपछि पुनः भारतबाट फर्किनेहरुको संख्या दिनहुँ थपिँदै गएको छ । गत वर्ष नै घर फर्केकाहरु अधिकांस अहिले पनि बेरोजगार छन् । गाउँमा रोजागरी नभएपछि उनीहरुको दिनचर्या दिनभरी पसल, चियापसल, चौतारोमा गफ गरेर वितिरहेको छ । अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ का रतनबहादुर साउँद भन्छन्– ‘घरमा कुनै काम नभएपछि धेरै जनाको दिन चिया पसलमा गफ गरेर बित्ने गरेको छ । ’

वर्षौदेखि भारतको रोजगारीको भरमा घरपरिवार धानेका धेरैजसो अहिले काम नपाएर गाउँमै भौतारिरहेका छन् । मंगलसेन नगरपालिका वडा नम्बर १४ का  दानबहादुर विक भन्छन्– ‘हामीले भारत नगएर गाउँमै पनि केही गर्न सकिन्छ भनेर कहिल्यै सोचेनौ । अहिले निकै कठिनाई भइरहेको छ । ’ ७ वर्षअघि साविकको अछाम जिल्ला विकास समितिले गरेको एक अध्ययनमा अछामबाट भारतमा काम गर्न जानेहरुको संख्या ५० हजार बढी नाघेको उल्लेख छ । कोरोना भाइरस संक्रमण फैलिएपछि भारतका विभिन्न स्थानबाट गत वर्ष करिब २० हजार जना घर (अछाम) फर्किएको अनुमान गरिएको छ । 
अछाम स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो वर्ष (२०७६ साल) चैत ११ गतेदेखि हालसम्म करिब १५ हजार जना क्वारेन्टिनमा बसेका थिए । गत वर्ष (२०७७ साल) माघदेखि चैत १० गतेसम्म मात्र करिब पाँच हजार जना भारतबाट अछाम फर्किएको अनुमानित तथ्यांक छ । लकडाउनको अवधिमा मात्रै अछाममा ३० हजार भन्दा बढि भारतबाट फर्किएको स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ । ति मध्ये करिब १५ हजार फेरी भारतमै फर्किएका थिए । भारतका विभिन्न ठाउँमा काम खोज्दा पनि नभेटिए पछि नयाँ वर्ष र चैते दसैंको मौकामा घर फर्किन फर्किएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण भारतबाट रोजीरोटी गुमाएर फर्केकाहरुका लागि अछामका कुनै पनि स्थानीय तहले खास कार्यक्रम ल्याउन सकेका छैनन् । ‘अहिलेसम्मको सबै व्यवस्थापन कोरोना भाइरस नियन्त्रणका लागि लाग्यौं ’ कमलबजार नगरपालिकाका प्रमुख ओमकार विष्टले भने ,‘प्रधानमन्त्री स्वरोजगार जस्ता कार्यक्रममा भने उहाँहरुलाई व्यवस्थापन गर्न खोजेका छौं । ’