Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

महनिावारीमा असुरक्षित, विद्यालय  छात्रा मात्र होइन, शिक्षिका पनि जाँदैनन् विद्यालय

महनिावारीमा असुरक्षित, विद्यालय  छात्रा मात्र होइन, शिक्षिका पनि जाँदैनन् विद्यालय

मेनुका ढुंगाना (अछाम)

अछामका अधिकांश विद्यालयका शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा छन् । भएका शौचालय फोहोर छन् भने शौचालयभित्र पानीको कुनै ब्यवस्था छैन । विद्यालयमा छात्रा मैत्री शौचालयको न्युनतम मापदण्ड समेत पुरा नहुदा महिनावारीका बेला छात्राहरुको पढाई प्रभावित हुँदै आएको छ । कतिपय छात्राहरु त महिनावारीका बेला विद्यालय नै जादैनन् । 

महिनावारी छात्राहरुका लागि केही विद्यालयमा स्यानीटरी प्याड उपलब्ध भएपनि प्रयोग र ब्यवस्थापनमा अनेकौं चुनौती छन् । ‘रगत धेरै बगेमा समस्या आउन सक्छ भनेर २ वटा सुतिको प्याड एकैपटक  प्रयोग गर्छु,’ शोडषा माविमा कक्षा १० मा अध्ययनरत शर्मिला बोगटीले भनिन्,‘प्याड बदल्न घरमै जानुपर्छ ।’ धेरै रगत बग्दा प्याड कहाँ गएर बदल्ने भन्ने तनाव हुने गरेको उनले सुनाईन् । ‘त्यसैले महिनावारी भएको बेला पढाइ तिर ध्यानै जाँदैन’, शर्मिलाले भनिन् । ब्यवस्थित शौचालयको अभावमा महिनावारीका बेला छात्राहरु चाहेर पनि विद्यालय जान सक्दैनन् । गईहाले पनि बिचमै पढाइ छोड्नु पर्ने बाध्यताका कारण अध्ययन प्रभावित हुने गरेको उनीहरुको गुनासो छ । 

‘महिनावारी भएको बेला पुरै विषय अहिलेसम्म पढ्न सकेको छैन,’ कक्षा ८ कि छात्रा शारदा भाटले भनिन्, ‘स्कुलमा चर्पिको समस्या, घरमा आउँदा छाउगोठमा बस्नु पर्ने बाध्यता ।’ विद्यालयमा स्यानीटरी प्याड विसर्जन गर्ने ब्यवस्थित ठाउँ नहुदा झाडीमा प्याड फ्याँक्नु परेको अधिकांस छात्राहरु गुनासो गर्छन् । एकातिर महिनाको ६ दिन छाउगोठमा बस्नुपर्ने बाध्यता, अर्कातिर विद्यालयको कमजोर भौतिक संरचनाका कारण पढ्न गाह्रो हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा आइशा ढुंगाना बताउछिन् । ‘सधैंको मानसिक तनाव बोकेर कसरी राम्रो पढ्नु ?’, आइशाले प्रश्न गरिन् । 

जनप्रतिनिधि, शिक्षक तथा अभिभावकसँग पटकपटक आफ्नो समस्या राख्दा पनि कसैले वास्ता नगरेको उनीहरु बताउँछन् । ‘शिक्षकहरुको प्रयोग गर्ने छुट्टै शौचालय छ, सफा पनि छ, तर विद्यार्थिले प्रयोग गर्ने शौचालयको हालत नाजुक छ,’ कक्षा १० का छात्र टंक तिमिल्सेनाले भने, ‘ समस्या त हामीलाई पनि छ, तर छात्राहरुलाई धेरै अफ्ठेरो छ ।’ यसबारे कसैले पनि चासो नदिएको टंक बताउछन् । ।

विद्यालयमा पानीको अभावका कारण शौचालयमासमस्या निम्तिएको शोडषा माविका प्रधानाध्यापक देबेन्द्र दुब्बेले बताए । ‘ विद्यालयमा पानी भयो भने समस्या समाधान हुन्छ, ’उनले भने । शौचालय फाहोर हुँदा छात्राहरुलाई बढि समस्या हुने गरेको प्रधानाध्पक दुब्बेले स्वीकारे । ‘पानी ल्याउनका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘यसमा जनप्रतिनिधि, समुदाय र अभिभावकको साथ चाहिन्छ ।’

शिक्षिका पढाउन जाँदैनन्

अछामकै प्रभा डिक्रेनीमा रहेको मष्टामाडौं आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । ५० जना विद्यार्थी रहेको उक्त विद्यालयमा २ शिक्षिका र २ शिक्षक अध्यापन गर्छन्  । सबै शिक्षक–शिक्षिकाका लागि आ–आफ्नो विषय र समय तालिका छुट्याइएको छ । तर, हरेक महिनाको ५ दिन २ जना शिक्षिका पढाउन आउँदैनन् । विद्यालय नजिकै मष्टो देवताको मन्दिर भएकाले देवताकै डरले महिनावारी भएका बेला उनीहरू पढाउन नआउने गरेको विद्यालयका शिक्षक झंकरबहादुर रावतले बताए । 
महिनावारीका बेला पुर्खौंदेखि अहिलेसम्म कसैले पनि विद्यालय क्षेत्रभित्र पाइलासमेत नटेकेकाले आफूहरु पनि पढाउन नगएको शिक्षिका पशुपति बुढाले बताईन् । ‘म महिनावारी भएका बेला स्कुलमा गएर पढाउन कुनै पनि हालतमा सक्दिन,’ उनले भनिन, ‘यस्तो बेला पनि विद्यालय आउनैपर्छ भने कुनै अर्को ठाउँमा विद्यार्थी राखेर पढाउने विकल्प खोज्नुपर्छ ।’ कुनै दिनस्कुलमै भएका बेला  महिनावारी भएमा हत्तपत्त निस्किहाल्ने गरेको उनले सुनाइन् । ‘महिनावारी भएका बेला पढाउन नजाने आाफ्नो खुसी होइन, समाजका कारण र देवीदेवताका कारण जानै सकिंदैन,’ अर्की शिक्षिका ज्ञानु ठकुल्लाले भनिन्, ‘बरु अरू रोग लागे उपचार गर्न सम्भव हुन्छ, देवीदेउता लागे क्यान्सर लागे झैं हुन्छ । महिनावारीका बेला विद्यालय गएर पढाउन सम्भव नभएको उनी बताउँछिन् । ‘म जागिर छाड्न तयार छु, तर स्कुलमा आएर पढाउन सक्दिन,’ उनले भनिन् । डिक्रने गाउँमा कोठा भाडा लिएर बस्दै आएकी उनले महिनावारी हँुदा माइतीघर जानुपर्ने बाध्यता रहेको सुनाईन्  । 

विद्यालय नजिक मन्दिर भएकाले महिनावारी भएका छात्राहरू पनि हरेक महिनाको ७ दिन विद्यालय जाँदैनन् ् । ‘मेडम नै महिनावारी भएका बेला पढाउन आउनु हुन्न भने हामी कसरी आउने ?,’ कक्षा ५ मा अध्ययनरत छात्रा ललिता बुढाले प्रश्न गरिन्  । महिनावारीका बेला विद्यालय आउन डर लाग्ने गरेको उनी बताउँछिन् । 
महिनावारीका बेला शिक्षिकाहरु विद्यालय नआउँदा अध्यापनका लागि समय ब्यवस्थापन गर्न गाह्रो भएको शिक्षकहरु बताउँछन् । ‘मेडमहरू जहिले पनि महिनावारी सँगै–सँगै हुन्छन,’ शिक्षक नृप ठकुल्लाले भने, ‘त्यो बेला हामी २ जनाले मात्र बाल विकासदेखि ५ कक्षासम्म पढाउन सक्दैनौं ।’ देवी–देवताको नाममा विद्यालयको नाम राखेको र धेरैजसो विद्यालय नजिक मन्दिर भएका कारण अछामका धेरै विद्यालयमा महिनावारी हुँदा शिक्षिका र छात्रा विद्यालय नआउने समस्या रहेको शिक्षक ठकुल्ला बताउँछन् । ‘हामीले मेडमहरूलाई एक पटक महिनावारी भएका बेला पढाउन आउनुस् केही भइहालेमा अरू विकल्प खोजौंला भनेका छौं, तर उहाँहरू आउन मान्नु हुन्न,’ शिक्षक नृप ठकुल्लाले भने  ।

एकातिर विद्यालयका कमजोर भौतिक संरचना महिनावारी हुने छात्राको पढाईमा बाधक बनेका छन् भने अर्कातिर महिनावारी सम्बन्धि अनेकौं हानिकारक सामाजिक मान्यताले उनीहरुको पढाईमा तगारो हालिदिएका छन् । अछाममा पछिल्लो १० बर्षको अवधिमा १२ जना महिलाले छाउगोठमा ज्यान गुमाइसकेका छन् । अछाममा जान्ने बुझ्ने अगुवाहरु समेत छाउ भएका बेला घर नजिकै बस्न चाहँदैनन् । महिनावारी सामान्य शारिरिक प्रक्रिया हो भन्ने चेतनाको अभावका कारण छात्राहरुको पढाई नराम्ररी प्रभावित हुँदै आएको छ । 

सरसफाइ महत्वपुर्ण

महिनावारीका बेला लामो समयसम्म एउटै प्याड प्रयोग गरे त्यसबाट शरिरमा संक्रमण फैलन सक्नेस्वास्थ्यकर्मी बताउछन् । ‘महिनावारीका बेला प्रयोग गर्ने स्यानिटरी प्याड हरेक ४ देखि ६ घण्टाको विचमा फेर्नैपर्छ,’ वरिष्ठ स्त्रिरोग विशेषज्ञ डा. अञ्जना डंगोलले भनिन्, ‘अन्यथा त्यसैबाट शरिरमा संक्रमण फैलने जोखिम हुन्छ ।’ डा. डंगोलका अनुसार, महिनावारीका बेला हरेक दिन नुहाई धुवाई गरेर  सफा भएर बस्नु अति नै आवस्यक छ । 

अछामको ढुंगाचाल्ना स्वासथ्य चौकीमा कार्यरत सिनियर अनमि मिरा साउदले एकैपटक २ वटा प्याड वा कपडा प्रयोग गरेर लामो समयसम्म त्यही प्याड लगाएर बस्नुस्वास्थ्यको हिसाबले निकै गलत भएको बताईन् । ‘धेरै रगत बगेको बेला यसले मद्दत गरेपनि स्वास्थ्यका लागि यो उपयोगी तरिका होइन,’ उनले भनिन्, बरु एउटै प्याड प्रयोग गर्ने र छिटो–छिटो परिर्वतन गर्ने गर्नुपर्दछ ।’स्वास्थ्य विशेषज्ञहरुको भनाइ अनुसार महिनावारीका बेला प्रत्येक ४ घण्टामा प्याड बदल्नुपर्दछ । महिनावारीमा बग्ने रगतको मात्रा अनुसार प्याड वा कपडा बदल्ने समय निर्धारण गर्ने चिकित्सकहरु बताउँछन् । घरेलु कपडाको प्रयोग गर्नेहरुलाई विशेष सावधानी अपनाउन स्त्रिरोग विशेषज्ञ डा. डंगोलको सुझाव छ । ‘महिनावारीका बेला सफा कपडाको प्रयोग गर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रयोग गरेको कपडालाई साबुन पानीले राम्रोसँग धोएर घाममा सुकाई सफा र सुख्खा ठाउँमा राख्नुपर्छ ।’ 

महिनावारीका बेला हरेक ४ देखि ६ घण्टाभित्र प्याड फेर्नैपर्ने भएपनि विद्यालयमा प्याड फेर्ने सुविधा नहुँदा छात्राहरु संक्रमणको जोखिममा छन् । सरकारले हरेक सामूदायीक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन थालेपनि विद्यालयमा त्यसको उचित ब्यवस्थापन हुन सकेको छैन । जसको प्रत्यक्ष प्रभाव छात्राहरुको अध्ययनमा पर्दै आएको छ । यसबारे विद्यालय ब्यवस्थापन र स्थानिय सरकारले चासो दिए शर्मिला, शारदा र आइशा जस्ता छात्राहरुले महिनावारीका बेला पनि विद्यालयमा पुरा समय पढ्न पाउँथे कि !

प्रतिक्रिया