Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव पेश गर्ने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज प्रदेश सभामा अविश्वास प्रस्ताव पेश गर्ने तयारी भएको छ ।
दलहरुले यसअघि नै संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव आज दिउसो २ बजे बोलाइएको विशेष अधिवेशनमा पेश गर्ने तयारी भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले आज अविश्वास प्रस्ताव पेश गर्ने निर्णय हिजो नै गरेको छ । बैठकमा आज मुख्यमन्त्री गुरुङसहित अन्य दलका नेता बोल्ने कार्यसूची पनि रहेको छ । त्यसपछि अविश्वास प्रस्तावमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । छलफल सकिएपछि प्रस्तावमाथि मतदान गर्ने कार्यसूची तयार पारिएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)  र जनता समाजवादी पार्टी (जसपा)का सांसदले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यसमा राष्ट्रिय जनमोर्चाको पनि समर्थन रहेको छ । २८ जना प्रदेश सभा सदस्यको हस्ताक्षर रहेको अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले १ वैशाख राति नै प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु भएको थियो ।

त्यसपछि तीनै दलले प्रदेश प्रमुख अमिक शेरचनसँग विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए । प्रदेश प्रमुख शेरचनले आज दिउसो २ बजे विशेष अधिवेशन बोलाउनु भएको हो ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । जसमा नेकपा (एमाले) का २८, कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद रहेका छन्। त्यस्तै, जनमोर्चाका ३ सांसद छन्।

प्रतिक्रिया