Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

केपी ओली र माधव नेपालबीचको वार्ता सकियो, कार्यकर्तामा छायो उत्साह

केपी ओली र माधव नेपालबीचको वार्ता सकियो, कार्यकर्तामा छायो उत्साह

काठमाडौँ – विभाजनको औपचारिक घोषणा आज हुन्छ कि भोलि भन्नेतर्फ नेकपा एमाले अग्रसर भइरहेका बेला पार्टीका दुई शीर्ष नेताहरु सघन संवादमा जुटेका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजधानीको एक होटेलमा भेटवार्ता भएको हो ।

आज (बुधबार) साँझ पौने ६ बजेदेखि चलेको वार्ता केहीबेरअघि सकिएको छ । बैठकस्थलबाट बाहिरिने क्रममा नेता नेपालले संवाददाताहरुसँग कुनै प्रतिक्रिया दिनुभएन । संवाददाताहरुको जिज्ञासामा उहाँले म केही बोल्दिनँ भन्ने जवाफ दिनुभयो ।

वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताउनुभयो । दुवै नेता प्रफुल्लित देखिएको उहाँले बताउनुभयो ।

पार्टीभित्र लामो शीतयुद्धपछि दुई शीर्ष नेताबीच संवादको चरण सुरु भएपछि एमालेको विभाजन रोकिने सम्भावना प्रवल बनेको छ ।

राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले विभाजन दुवै पक्षलाई आत्मघाती हुने कुरा ओली र नेपालले राम्रोसँग बुझिसकेको बताउनुभयो ।

दुई नेताको भेटपछि एमालेको विभाजन रोकिने कुरालाई अप्रत्याशित पनि भन्न नमिल्ने उहाँको जिकिर छ । केपी ओलीले तिता कुरा बिर्सेर अघि बढौँ भन्नेबित्तिकै एमाले एकतावद्ध हुने उहाँको विश्लेषण छ ।

एमाले अध्यक्ष ओलीले आज दिउँसो माधव समूहमा रहेका पूर्वमन्त्री योगेश भट्टराईलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो । त्यस क्रममा भट्टराईले पार्टी एकताका लागि लचक भएर प्रस्तुत हुन ओलीलाई आग्रह गर्नुभएको थियो ।

भट्टराईको यस्तो आग्रहपछि उहाँकै अगाडि ओलीले माधवकुमार नेपाललाई फोन गरेर संवादका लागि प्रस्ताव गरेको र मेरियट होटेलमा भेटवार्ता हुने तय भएको हो ।

पार्टी एकता बचाउन ओली र नेपालबीच संवादको चरण सुरु हुनुलाई माधव समूहमा रहेका नेताहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । तर एकता कि विभाजन भन्ने कुरा भेटवार्तामा गरिएका प्रस्ताव र छलफलले निर्धारण गर्ने नेता रघुजी पन्तले बताउनुभयो ।

दुई नेताबीच वार्ता सुरु भएको समाचारले एमाले कार्यकर्ता पंक्तिमा पनि उत्साह देखिएको छ । सामाजिक संजालमार्फत एमाले कार्यकर्ताले मिल्नुको विकल्प नरहेकोले र वार्तालाई सकारात्मक दिशामा लैजान आग्रह गरिरहेका छन् ।

हिजो बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले वरिष्ठ नेता नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले पदबाट किन नहटाउने भन्दै भन्दै दुई दिनको अल्टिमेटमसहित स्पष्टीकरण सोधेको थियो । त्यसको भोलिपल्ट भएको अध्यक्ष र वरिष्ठ नेताबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

तर ओली समूहमा रहेका दोस्रो तहका नेताहरुले भने अब माधव नेपालहरुलाई पार्टीमा राखिरहन नहुने बताउँदै आएका छन् । पार्टीको संरचनालाई अन्तै बुझाउने षडयन्त्रमा लागेका माधव नेपालहरुलाई निलम्बनले मात्रै नपुग्ने ओली समूहका नेता कर्ण थापाको भनाइ छ ।

यसैबीच निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा ९एमाले०को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा निवेदन बुझाएको छ । खनाल–नेपाल पक्षले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाउँ भन्दै निवेदन दिएको हो ।

निवेदन ३ बजेपछि आएको र अध्ययनकै क्रममा रहेकाले दर्ता भने नभएको सर्वोच्च अदालतले बताएको छ । कर्णालीबाट सुरु भएको फ्लोर क्रस घटना केन्द्रमा पनि सर्न सक्ने भएकोले सम्भावित क्षति रोक्न ओलीले माधव समूहमा रहेका सांसदहरुलाई पदमुक्त गर्ने योजना बनाउनुभएको छ । -nepalinetwork

प्रतिक्रिया