Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ जेठ २०८१

नेपाल–खनाल समूहले गर्‍यो दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

नेपाल–खनाल समूहले गर्‍यो दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

 काठमाडौं - नेकपा एमालेको नेपाल–खनाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ ।

हिजो र आज बसेको माधव नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै उक्त समूहले २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो ।

अभियानका क्रममा अधिवेशन–महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन हुनेछ । यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइने नेता योगेश भटटराईले जानकारी दिनुभयो ।

यो अभियान पार्टी एकताको रक्षाका लागि भएको उहाँले बताउनुभयो । एमालेको एकता संकटमा रहेको भन्दै उहाँले भन्नुभयोे, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।’

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

साथै ४ र ५ चैतमा भएको राष्ट्रिय कार्यकर्ता भेला तथा केन्द्रीय र स्थायी कमिटी सदस्यहरुबाट आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ भने पार्टीमा उत्पन्न अन्तरविरोधको राजनीतिक, वैचारिक, संगठनात्मक पक्ष तथा पार्टीमा देखा परेको कार्यशैलीगत समस्यालाई समेटेर प्रशिक्षण सामाग्री बनाउने र देशभर पठाउने निर्णयसमेत नेपाल समूहको बैठकले गरेको छ ।

प्रतिक्रिया