Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

डढेलो लगाउने प्रवृत्तिलाई कारबाही हुने अपेक्षा

डढेलो लगाउने प्रवृत्तिलाई कारबाही हुने अपेक्षा

कन्टिर–बाबू कहिलेकाहीँ सोच्छन्– आखिर यो देश चलाउँछ कसले ? सायद यहाँ सत्ताभित्रका हरूको भन्दा बाहिरका हरूको हालीमुहाली बढी छ ।

कहिले जातका नाममा, कहिले सम्प्रदाय र समुदायका नाममा, कहिले आस्था र विचारका आधारमा, कहिले चाचुचा (चाकडी, चुग्ली, चाप्लुसी)का आधारमा सत्ता प्रभावित गर्न खोज्नेहरूको दबदबा बढेकोमा कन्टिर–बाबू चिन्तित छन् । तर विडम्बना राज्य यस्ता व्यवहारहरूप्रति मौन बस्छ । यस्तोमा स्वाभाविक रूपमा प्रश्न उठ्छ– यो राज्य र सरकार कसको हो ?

कन्टिर–बाबू केही दिनअघि सार्वजनिक भएको एक भिडियो प्रकरण फेरि रिबाइन्ड गरेर हेर्छन् । भिडियोमा एक जना ‘ज्वाला’ले महाराजगन्ज प्रहरी चौकीमा ताऊ देखाउँदै मणिकान्त झा नामक प्रहरी सहायक निरीक्षकलाई ‘एनि-हाऊ सरूवा गराउँछुु,’ भनेको सुनिन्छ । उनीसँगै रहेका अर्का एक ‘धुवाँ’ले झालाई ‘ल मधेसको हो, मधेसमा गएर खेतीपाती गर्नू’ भनेर सुझाएका छन् ।

यसैबीच, संयोग हो कि ती ज्वाला र धुवाँहरूले भनेको जस्तो दुस्प्रभाव साँच्चै परेको हो ? भिडियो सार्वजनिक भएलगत्तै असई झाको सरूवा भएको समाचार पनि सार्वजनिक भयो ।

झाजीको सरुवा भएको समाचार सार्वजनिक भएको दिन कन्टिर–बाबू सुरुमा भिडियो सार्वजनिक भएको दिनमा भन्दा बढी छक्क परे । यो कस्तो अमिल्दो व्यवहार हो ? साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने, त्यस्तो सोच्नेलाई नै पुरस्कार ? अरे वाह सरकार ! ज्वालाको मनमा रहेको नचाहिँदो साम्प्रदायिक तापमा पानी खन्याउनु त कहाँ हो कहाँ, उल्टै हावा हम्केर दनदनी सल्काउने ?

त्यसो त प्रहरी सङ्गठन र सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि झाजीको सरूवा बदर भएको सूचना पाएका छन्, कन्टिर–बाबूले । तर कन्टिर–बाबूको प्रश्न छ– के यो प्रकरणमा सरुवा बदर हुनुमात्र पर्याप्त हो ? दोषीलाई कारबाही गरिनु पर्दैन ? कथित जातीय र नश्लीय ‘गर्व’को उन्मादमा जे पायो त्यही भन्ने ? जेपिटी गर्ने ?

कन्टिर–बाबूको स्पष्ट मत छ– यस घटनाबारे थप सार्वजनिक बहस र स्वतन्त्र अनुसन्धान हुनुपर्छ । झाजीकै गल्ती हो भने त्यो पनि बाहिर आउनुपर्छ, होइन भने उनले न्याय पाउनुपर्छ । दोषीलाई कारबाही हुनैपर्छ ।

कन्टिर–बाबू भन्छन्– कुनै पनि नाममा सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्नेहरूको ‘डढेलो लगाउने’ नियत र वृत्तिलाई उचित ठहर्‍याउन सकिन्न । त्यसमा पानी छम्किनै पर्छ । यो राज्य, देश सबै जातजाति, भाषाभाषीको साझा भूमि हो भन्ने सार्वजनिक सन्देश र प्रत्याभूति प्रवाहित गर्नैपर्छ ।

प्रतिक्रिया