Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

एकदिन भानु नेपाल लोक पुगिगया !

एकदिन भानु नेपाल लोक पुगिगया !

कन्टिर–बाबू भन्छन्– नेपालीले वर्षमा एकदिन सम्झिनेमध्ये एक श्रद्धेय हुन्, नेपाली भाषाका आदिकवि भानुभक्त । र, भानुलाई सम्झने त्यो दिन हो असार २९ । 

भनिरहनु जरूरी छैन, नेपाली भाषालाई वर्तमानसम्मको विकसित अवस्थामा ल्याउने सूत्रधार मध्येका एक अत्यन्त महत्त्वपूर्ण स्रष्टा हुन् भानु । जस्तो नाम छ उस्तै नेपाली भाषा आकासमा कहिल्यै नअस्ताउने भानु (सूर्य) हुन् भानुभक्त ।

आज प्रत्येक नेपालीलाई नेपाली भाषामाथि गौरव छ तर भाषा उत्थानकर्ता भानुमाथि नि ... ? कन्टिर–बाबूको यो प्रश्नको उत्तर कसले दिने ? कन्टिर–बाबूको मत छ– आज नेपाली भाषा चौतर्फी अतिक्रमणको शिकार भइरहेको छ र यसको मूल कारक स्वयम् नेपालीभाषी हुन् ।

विदेशी भाषाको बढ्दो प्रयोग र तिनमाथिको निर्भरताका कारण नेपाली भाषा र समाज समस्याग्रस्त बन्दै छ । कुरो त कस्तो भइरहेको छ भने, आफ्नोभन्दा पराइ राम्रो भन्ने सोचबाट सबै ग्रस्त हुन थालेका छन् । अहिले भानु हुन्थे भने दिक्क मान्दै लेख्थे होलान– एकदिन भानु नेपाल लोक पुगिगया भाषाको गरूँ सुधार भनी... ! 

कन्टिर–बाबूले भानुलाई आदर गर्ने कारण अर्काे पनि छ । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणका सन्दर्भमा भानुको सर्वाधिक महत्त्वपूर्ण योगदान छ ।

कन्टिर–बाबूको ठहर छ, भानु उत्कृष्ट अनुवादक पनि हुन् । निश्चय पनि राष्ट्रिय संस्कृतिको विकास र प्रवर्धनका लागि राष्ट्र–राष्ट्रिय भाषाहरूमा अनुवादको प्रक्रियालाई जोड दिनु अपरिहार्य छ ।

कतिपयले भानुलाई वाल्मीकि रामायणका नेपाली अनुवादक मानेका छन् । तर कतिपयले भानुभक्तले अनुवाद गरेका होइनन् भनेका छन् । वरिष्ठ पत्रकार गोविन्द अधिकारीका अनुसार भानुले रामायणको कथामा नयाँ कृति रचना गरेका हुन् ।

अधिकारी भन्छन्– वाल्मीकीयबाहेक अरू पनि धेरै कथा छन् रामायणका । तुलसीदासको रामायण पनि अनुवाद नभई मौलिक सिर्जना हो ।

जे सुकै होस् । यस्ता कुरामा नअलमलिइकन कन्टिर–बाबू आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक नमन अर्पण गर्छन् । प्रणाम भानु । कन्टिर–बाबू भन्छन्– भानुभक्तले भाषा विकासका सन्दर्भमा पुर्‍याएको योगदानबाट सबैलाई प्रेरणा मिलोस् । आफ्नो ठाउँ र भाषाको महत्त्व चिन्न–लेख्न जाँगर चलोस् !

प्रतिक्रिया