जसलाई कुनै अभियान र दिवसले छुँदैन
दाउरा बेचेर गुजारा चलाउने मंगलसेनका महिलाहरु आफ्ना समस्याहरु सुनाउँदै ।  तस्बिर :- मेनुका ढुंगाना

मेनुका ढुंगाना, अछाम –

महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न निकयले तामझामका साथ मनाइ रहँदा ग्रमिणस्तरका धेरै महिलाहरु यसबारे बेखबर छन् । यसैको उदाहरण हुन्, ढकारी गाउँपालिका– ४ बलाता गाउँकी शोभा साउद । देशैभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरुवात गरिरहँदा उनी आफ्ना पिडा सुनाउन बाध्य छिन् । शोभा ९ वर्षको उमेरमा स्कुलमा भर्ना भइन् । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालय जान आवश्यक पर्ने शैक्षिक सामाग्रीको अभावमा समयमै भर्ना हुन सकिनन् । आफुभन्दा पछिका दुइ भाइलाई उनकी आमाले जेनतेज गुजारा गरी स्कुल पठाइन् । शोभा हेरालो लाग्न थालीन । बुवाको मृत्युपछि उनकी आमाले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएपछि छोरीलाई विद्यालय भर्ना गर्ने सपना पनि देख्न छोडेको आमा मैना बिकले सुनाईन् । ‘आफूलाई साँझ बिहान खानकै समस्या छ, कसरी मैले ड्रेस र कापी कलम किनेर स्कुल पठाउँथे । पेट भरिने गरि खान पाइएको छै्रन । ’ मैनाले भनिन्  , ‘ छोराछोरी स्कुल पठाउन सकिएको छैन । एकल महिला भनेर समाजले थिचोमिचो गर्छ । महिलाका लागि के कार्यक्रम हुन्छन् केहि थाहा छैन ।’ 

यस्तै मंगलसेन नगरपालिका –५ की कोकिला विकलाई पनि मजदुरी गर्ननमा ठिक्क छ । सदरमुकाम मै घर भएर पनि उनी आजसम्म कुनै तालिम गोष्ठिमा सहभागी भएकी छैनन् । ‘गाउँमा जान्ने बुझ्ने महिलाका दिन फेरीए होलान् । उनीहरुले तालिम पाए होलान् ’ उनले भनिन् ,‘हामीलाई त झन् गाह्रो छ । महंगी बढ्यो । मजदुरी गर्नलाई पनि काम पाइदैन ।’ उनकी छोरी अस्मिता पनि पहिले कामलाई प्राथामिकता दिन्छन् । उनी औपचारिकता निभाउन स्कुल जाने गर्छिन् । ‘छोरी भएर जन्मेपछि काम गर्नै पर्यो’, उनले भनिन्, ‘आमा, भाउजू, बज्यैले सिकेको काम छोरीले पनि गर्नैपर्छ भन्ने चलन छ । जे समाजमा चलन छ त्यसलाई मान्नै पर्यो ।’उनका अनुसार कुनै छोरीले घरमा बिहान अनिवार्य काम गरेर विद्यालय जान पाएका छन् भने कसैले त रात दिन काम गर्दा पनि अझै विद्यालय जान पाएका छैनन् । सदरमुकाम मंगलसैनमा यस्ता छोरी धेरै भेटिन्छन् ।

विषेश गरी दलित समुदायका छोरीहरु अझै पनि विद्यालयको पहुँचसम्म पुग्न सकेका छैनन् । मंगलसैन नगरपालिका ५ की पवन विक सधैं घरको काम र खेतीबारीमा व्यस्त देखिन्छिन् । उनका बुवा आमा दाजु बम्मै (भारत)मा काम गर्छन् । उनका अनुसनर घरमा पवन र उनकी दिदी मात्र थिए । दिदी १७ वर्षको उमेरमा बिहे गरिन् । अहिले घरको सबै काम पवन एक्लैले गर्छिन् । ‘गाई, भैंसी, एक हल गोरु र सातवटा बाख्रा छन् । तिनैलाई घाँसपात, स्याउला सोतर गर्दै दिन बित्छ, अहिले एक्लैछु’, उनले भनिन् ,‘सकी नसकी काम गरीरहेकी छु । स्कुल जान्छु भन्दा घरबाट दिएनन् । अब यसैगरी जिन्दगी चलाउनुछ ।’ सरोकारवालाका अनुसार केही वर्ष पहिले छोरीलाई विद्यँलय पठाउने, लेखपढ गर्न नदिने चलन थियो भने अहिले विद्यालय पठाउनुपर्छ भन्ने मानसिकता सबैमा बढेको छ । चेतना फैलिएसँगै छोरीलाई विद्यालयमा पठाउने गरे पनि नियमित नपठाउने हुनाले साक्षर मात्र बन्ने गरेका छन् ।

अछाममा कुल जनसंख्याको करिब १७ हजार बढी महिलाको जनसंख्या छ । आर्थिक सामाजिक हिसाबमा यहाका महिला पछाडी छन् नै शैक्षीक अवस्थामा पनि पछाडी नै छन् ।  राष्ट्रिय जनगणना, २०६८ अनुसार अछामको साक्षरता दर ५५.७ प्रतिशत छ । जिल्लामा पुरुषको साक्षरता दर ७६.७ प्रतिशतको तुलनामा महिलाको साक्षरता दर ४२.९ प्रतिशत मात्र रहेको छ ।  जिल्लाका ६ वटा गाउँपालिका र ४ नगरपालिका मध्ये साँफेबगर नगरपालिकाको महिला साक्षरता सबै भन्दा उच्च ५१.६ प्रतिशत रहेको छ भने सबै भन्दा न्युन महिला साक्षरता दर ढकारी गाउँपालिकाको ३६.२ प्रतिशत मात्रै रहेको छ । अधिकांस सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रभन्दा छात्रा धेरै छन् । विद्यालयमा नियमिति जान नपाउदा उनीहरुको पढाइ कमजोर छ । महिला र किशोरीमा कामको बोझ धेरै छ । यि नै महिलाहरुलाई न कुनै दिवसले छुन्छ न त कुनै अभियानले ।