Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पुन: पार्टी एकताका लागि उच्चस्तरीय छलफल भइरहेको छ । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमै गोप्यरूपमा वार्ता भइरहेको छ ।

दोस्रो तहका नेताहरूबीच पटक-पटक भएका छलफलमा नमिलेका विषय समाधान गर्ने जिम्मा दुई अध्यक्षले लिएका छन् । यसैक्रममा दुई अध्यक्षबीच गोप्यरूपमा बारम्बार छलफल भइरहेको स्रोतले जनाएको छ । पछिल्लोपटक भएको छलफलमा प्रचण्डले २०८४ सालपछि दुवै नेता अभिभावकका रूपमा बसेर एकीकृत पार्टीको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बनाउने प्रस्ताव अघि सारेका छन् । यो प्रस्ताव ओलीले भने स्वीकार गरेका छैनन् ।

यसअघि दोस्रो तहका नेताहरूबीच भएको छलफलमा पनि भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्ताव आएको थियो । त्योबेला पनि अध्यक्ष ओलीले अश्वीकार गरेका थिए ।

यस्तो प्रस्ताव छलफलमा आउन थालेपछि यसअघि ओली र भण्डारीबीचमै अन्तरविरोध उत्पन्न भएको थियो । आफूलाई सिध्याउन भण्डारीलाई अघि सार्न खोजिएको ओलीको बुझाइ छ । उनले सार्वजनिकरूपमै भण्डारीको आलोचना गरेका थिए ।

फेरि एकपटक प्रचण्डले पार्टी एकताका लागि भण्डारीलाई अध्यक्ष बनाउने र आफूहरू दुवैजना अभिभावकीय भूमिकामा बस्ने प्रस्ताव ओलीसामु राखेका हुन् ।

पार्टी एकता गर्न अहिले दुवै नेताले चासो देखाएका छन् । तर, भावी नेतृत्वका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रचण्डले यसअघि यस्तो छलफल गर्ने जिम्मा नेता वर्षमान पुनलाई दिएका थिए ।

एमालेका तर्फबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा केही युवा नेताको समूह खटिने गरेको थियो । यी नेताहरूबीच पटक-पटक भएका छलफलमा पनि भावि नेतृत्वका विषयमा कुरा मिल्न नसकेपछि दुई अध्यक्षलाई जिम्मा लगाइएको स्रोतको दाबी छ ।

अध्यक्ष ओलीले एकीकृत पार्टीको एक मात्रै अध्यक्ष आफू नै हुनुपर्ने र अध्यक्षमा दाबी नगरे बरु प्रचण्डलाई अहिले पूरै कार्यकाल प्रधानमन्त्री दिन सकिने बताएका छन् । उनले दुई अध्यक्ष राख्ने प्रस्ताव पनि सार्वजनिकरूपमै अश्वीकार गरेका थिए ।एक कार्यक्रममा ओलीले दुई अध्यक्ष बनाएर पार्टी एकता हुन नसक्ने बताएका थिए । विभिन्न प्रस्तावमा छलफल हुने क्रममा फेरि भण्डारीलाई अध्यक्ष बनाउने कसरत अघि बढेको हो ।

प्रचण्डले २०८४ सम्म आफू नै प्रधानमन्त्री रहिरहने र त्यसपछि अध्यक्ष र राजकीय नेतृत्वमा दाबी नगर्ने वचन ओलीलाई दिएका छन् । तर, प्रचण्डले त्यसपछि ओलीले पनि पार्टी अध्यक्ष छाड्नुपर्ने शर्त राखेका छन् ।

यसमा दुवैतर्फका अधिकांश युवा नेता भने सहमत छन् । तर, अध्यक्ष ओली सहजै नेतृत्व छाड्ने मनस्थितिमा नरहेको र यही शर्तका आधारमा एकता हुन नसक्ने उनी निकटका नेता बताउँछन् ।

प्रतिक्रिया