Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

महाभारतको युद्धकालिन कला - भुवो पर्व

महाभारतको  युद्धकालिन कला - भुवो पर्व

अछाम : अछामलगायत सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष पुष महिनामा भुवो खेल्ने गरिन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरीने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व अछाममा निकै महत्वका साथ मनाउने गरिन्छ । पुष महिनाको पूर्णिमाबाट सुरु भई पुषे औँसीसम्म भुवो खेल्ने गरिन्छ । हातमा तरवार र ढाललिई सामूहिक रुपमा स्थानीय बाँजागाँजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विषेशगरी सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र बझाङ्गमा मनाउने गरिन्छ । 

यो पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र, दाजुभाईहरुबीचको सम्बन्ध प्रगाढ हुने विश्वास छ । भुवा खेलको पहिरन विषेश प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरुले सेतो भोटोसहित जामा, पछाडि कुम देखि खुट्टासम्म पुग्ने गरी पिठ्ँयुमा एउटा सेतो चद्धर जस्तो कपडा पहिरनुपर्छ । टाउँकोमा पँघरी बाध्नुपर्छ । बायाँहातमा ढाल दायाँबायाँ हातमा तरबारलिई बाँजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवो खेल खेल्ने गरिन्छ । यो युद्धकालिन कला हो । बाईसे चौबिसे राज्यको बेला चलेको लडाईमा विजयी प्राप्त गरेको खुशीयालीमा यो पर्व मनाउन थालिएको स्थानीय जानकार (भुवो खेलाउने गुरु) नेत्र कुँवरले बताए । 

भुवो पर्वको अवसरमा पूर्णीमाको दिन घर-घरमागएर देउँसी-भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने चलन पनि छ । पाण्डव र कौरबबीचको लडाई सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनको रुपमा यो पनि पर्व मनाईन्छ । पछिल्लो समय युवापुस्ताहरुमा भुवो खेलप्रति आकर्षण देखिन थालेको छ । पुर्खाको नासो संरक्षण गर्ने काम युवापुस्ताको रहेको स्थानीय युवा कृष्ण कुँवरले बताए । उनले भने, ‘युवाहरुको संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका हुन्छ, भुवा खेल सबैले खेल्न सक्दैनन् । यसको लागि लामो समयसम्म अभ्यास गर्नुपर्दछ । खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ । यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास पनि रहेको छ । 

अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका, चौरपाटी गाउँपालिकाका विभिन्न ठाउँमा भुवो खेल्ने गरिन्छ । अन्य विकास निमार्णको कामसंगै ऐतिहासिक कला संस्कृति जगेर्ना गर्न स्थानीय सरकार लागी रहेको साँफेबगर नगरपालिका ३ का निवर्तमान वडाध्यक्ष कुष्ण बुढाले बताए । 

महाभारतमा युद्धकाल देखि यो पर्व सुरु भएको विश्वास मानिन्छ । धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियालीस्वरूप विजय यात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किम्बदन्ती रहेकोछ । भुवा खेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई अछामको स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ । पहिलेका दिनहरूमा राजा र रजौटाहरुले आफ्ना भाई भारदार लगाएत जनताहरुलाई आत्मरक्षाको लागि खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनका लागि भुवा खेलाउने गरेको बुढापाकाहरुको भनाई छ ।

प्रतिक्रिया