Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् ।

चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो लागेको छ । विश्वमै नाम आइरहेको छ’, स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै ऐरीले भने ।

मैदान प्रवेश गर्दा रेकर्ड बन्छ भन्ने सोच नराखे पनि लगातार ६ छक्का हानेपछि भने विश्व रेकर्डको सोच दिमागमा आएको उनले बताए । उनले भने, ‘त्यतिबेला सुरुमा जाँदा रेकर्ड बनाउँछु भन्ने थिएन । ६ छक्का हानेपछि विश्व रेकर्ड बन्नसक्छ भन्ने सोच आएको थियो ।’

उनले विश्व रेकर्ड बनाउँदा टिमका सबैजना निकै खुसी रहेको र ड्रेसिङ रुमको माहोल पनि निकै सकरात्मक रहेको बताए । ‘मैले रेकर्ड बनाउँदा सबैजना खुुसी थिए । अहिले टिम पनि एकजुट भएर खेलिरहेको छ । सबैले बधाई दिइरहेका थिए’, उनले भने ।

भारतविरुद्धको खेलमा भने आफूले कसरी २०३ रनको लक्ष्य भेट्ने भनेर मात्र सोचेको बताए । ‘त्यो बेला रन कसरी चेज गर्ने भन्ने मात्रै दिमागमा थियो । एक ओभरबाट कति रन बनिरहेको छ । सल्लाह गरेर खेलिरहेका थियौं’, १५ बलमा ३२ रन बनाएका उनले भने ।

उनले भारतका शिवम् दुवेलाई १४औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेका थिए । तर पनि नेपाल भारतसँग २३ रनले पराजित भएको थियो ।

पछिल्लो समय क्यानडामा ग्लोबल टी–२० खेलेर आएका उनले त्यो प्रतियोगिताको अनुभवले पनि हाल निकै सहयोग गरिरहेको बताए । ‘क्यानडामा राम्रो टिम र खेलाडीहरुसँग सिक्ने मौका पाएँ । त्यहि अहिले लागु गरिरहेको छु ।’

नेपाली टिमले घरेलु मैदानमा नै कात्तिक ११ गतेबाट टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्दैछ ।

पहिलो खेलमा मंगोलियाविरुद्ध ५२ रनमा अविजित रहेका दिपेन्द्रले दोस्रो खेलमामाल्दिभ्स विरुद्ध ९ र तेस्रो खेलमा भारतविरुद्ध ३२ रन बनाएका थिए ।

प्रतिक्रिया