Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

डोटीका स्थानीय तहविरुद्ध अख्तियारमा भ्रष्टाचारका ९३ उजुरी, कुन पालिकामा बढी ?

डोटीका स्थानीय तहविरुद्ध अख्तियारमा भ्रष्टाचारका ९३ उजुरी, कुन पालिकामा बढी ?

डोटी। जिल्लाका स्थानीय तहका बेथिति र अनियमितताविरुद्ध पछिल्ला ३ वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९३ उजुरी परेका छन् ।

आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७७/०७८ मा ४५, ०७८/०७९ मा १९ र ०७९/०८० मा २९ उजुरी परेका छन् । तीन वर्षमा अख्तियारमा परेका उजुरीहरूमध्ये हालसम्म ५३ फर्छ्यौट भइसकेका र ४० अनुसन्धानको क्रममा रहेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार यो अवधिमा पूर्वीचौकी गाउँपालिकाविरुद्ध सबैभन्दा बढी ३० उजुरी परेका छन् । यस गाउँपालिकाविरुद्ध ०७७/०७८ मा १८, ०७८/०७९ मा ४ र ०७९/०८० मा ८ उजुरी परेका हुन् । त्यसमध्ये २२ वटा उजुरी फर्छ्यौट भइसकेका छन्। सबैभन्दा कम आदर्श र केआई सिंह गाउँपालिकाविरुद्ध ३/३ उजुरी परेका छन् । केआई सिंहविरुद्ध ०७७/०७८ मा २ र ०७८/०७९ मा १ उजुरी परेका छन् । ०७९/०८० मा यस गाउँपालिकाविरुद्ध कुनै पनि उजुरी नपरेको आयोगले जनाएको छ । परेका ३ उजुरीहरूमध्ये २ फर्छ्यौट भइसकेका छन् भने एक अनुसन्धानको क्रममा रहेको छ ।

आदर्श गाउँपालिकाविरुद्ध ०७७/०७८ मा २ र ०७८/०७९ मा १ गरी ३ उजुरी परेका छन् । यस गाउँपालिकाविरुद्ध ०७९/०८० मा कुनै पनि उजुरी परेको छैन । परेका उजुरीहरूमध्ये २ फर्छ्यौट भएको र १ अनुसन्धानमा रहेका छन् ।आर्थिक वर्ष ०७७/०७८ मा १३, ०७८/०७९ मा १ र ०७९/०८० मा ४ गरी तीन वर्षको अवधिमा सायल गाउँपालिकाविरुद्ध १८ उजुरी परेका छन् । परेका उजुरीहरूमध्ये १२ फर्छ्यौट भई ६ अनुसन्धानमा रहेका आयोगले उपलव्ध गराएको सूचनामा उल्लेख छ । यस्तै, तीन वर्षको अवधिमा बडीकेदार गाउँपालिकाबिरुद्ध १० उजुरी परेका छन् । ०७७/०७८ मा ३, ०७८/०७९ मा छ र ०७९/०८० मा २ उजुरी परेकामा १ उजुरी मात्र फर्छ्यौट भएको छ । बाँकी ९ उजुरी हाल अनुसन्धानमा रहेका छन् ।

दिपायल सिलगढी नगरपालिकाविरुद्ध ८ उजुरी दर्ता भएका छन् । ०७७/०७८ मा १, ०७८/०७९ मा १ र ०७९/०८० मा ६ उजुरी परेका हुन् । परेका उजुरीहरुमा ३ फर्छ्यौट भई ५ अनुसन्धानमा रहेका छन् । शिखर नगरपालिकाबिरुद्ध ०७७/०७८ मा ६ र ०७९/०८० मा १ गरि ७ उजुरी परेका छन्। आर्थिक वर्ष ०७८/०७९ मा भने यस नगरपालिकाविरुद्ध कुनै जाहेरी परेन । परेका उजुरीहरूमा ४ फर्छ्यौट भइसकेका छन् भने ३ अनुसन्धानको क्रममा रहेका छन्।

जोरालय गाउँपालिकाविरुद्ध ३ वर्षको अवधिमा ७ उजुरी परेका छन् । यस गाउँपालिकाविरुद्ध आर्थिक वर्ष ०७८/०७९ मा १ र ०७९/०८० मा ६ उजुरी परेका हुन् । ०७७/०७८ मा भने यस उजुरी परेन । ७ उजुरीमध्ये १ फर्छ्यौट भई ६ अनुसन्धानको क्रममा रहेका आयोगको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ । यस्तै, बोगटान फुड्सिल गाउँपालिकाविरुद्ध पनि यस अवधिमा ७ उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/०७९ मा ५ र ०७९/०८० मा २ उजुरी परेका छन् । परेका उजुरीहरुमा ६ फर्छ्यौट भइसकेका र एक अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ।आयोगको कञ्चनपुर कार्यालयका अनुसार तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहहरुविरुद्ध ५ हजार २३७ उजुरी परेका छन् । जसमध्ये ४ हजार पाँच सय १७ उजुरी फर्छ्यौट भइसकेका छन्। -साभार नेपाल प्रेसबाट 

प्रतिक्रिया