Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

अछाममा एक अर्ब उनानब्बे करोड रकम फिर्ता

अछाममा एक अर्ब उनानब्बे करोड रकम फिर्ता

अछाम।  आर्थिक वर्ष २०७९/८० मा अछाम जिल्लाबाट एक अर्ब ८९ करोड रुपियाँ फिर्ता गएको छ । सङ्घ र प्रदेशबाट आएको बजेटमा चालु तथा पुँजीगत बजेटबाट एक अर्ब ८९ करोड ५६ लाख ५५ हजार रुपियाँ फिर्ता भएको हो । 

आव २०७९/८० मा सङ्घीय सरकारको पुँजीगततर्फ आधाभन्दा बढी रकम कार्यान्वयन हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पुँजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिए । 

आव २०७९/८० मा फिर्ता हुने प्रतिशत ५२.७३ रहेको छ । पुँजीगततर्फ जिल्लामा दुई अर्ब ३४ करोड ५६ लाख ६० हजार रुपियाँ आएको थियो । सङ्घीयबाट कार्यान्वयन हुने गरी चालुतर्फ दुई अर्ब ७० करोड ९५ लाख ६५ हजार रकम निकासा भएको थियो । जसमा १२ करोड ७४ लाख ६३ हजार रकम फिर्ता भएको छ । चालुतर्फको ९५ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ । स्थानीय तहबाहेकमा सङ्घीयको चालु तथा पुँजीगतमा ७२.०८ प्रतिशत मात्रै बजेट खर्च भएको लेखापाल माझीको भनाइ छ । प्रदेश सरकारबाट आएको बजेटमा सङ्घीयको तुलनामा राम्रो कार्यान्वयन भएको बताइएको छ । पुँजीगततर्फ २० करोड ३३ लाख ७२ हजार रकम फिर्ता भएको पाइएको छ । पुँजीगततर्फ प्रदेश सरकारले अछामका लागि दुई अर्ब दुई करोड ३८ लाख ४७ हजार रुपियाँ निकासा गरेको सो कार्यालयले जनाएको छ । प्रदेशबाट विनियोजित रकममा ३५ करोड ६४ लाख रकम खर्च, सात करोड ८५ लाख ४५ हजार रुपियाँ फिर्ता गएको छ । स्थानीय तहबाहेकमा अछाममा चालु र पुँजीगत गरेर प्रदेश सरकारको कुल बजेटको ८८.५३ प्रतिशत बजेट खर्च भएको बताइएको छ । 

स्थानीय तहबाट उन्नाइस करोड फिर्ता

सङ्घीय सरकारबाट प्राप्त १० मध्ये सात स्थानीय तहलाई प्राप्त बजेटबाट १९ करोड २३ लाख सात हजार रुपियाँ फिर्ता भएको छ । काम सम्पन्न नभए फिर्ता जाने प्रकृतिको कुल बजेट तीन अर्ब ८६ करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो । 

पञ्चदेवल विनायक नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रकममध्येमा सबैभन्दा बढी तीन करोड १२ लाख ४९ हजार रुपियाँ फिर्ता भएको छ । जुन नगरपालिकाले सङ्घबाट प्राप्त गरेको जम्मा बजेटको १२.०१ प्रतिशत हुन्छ । सबैभन्दा कम रामारोशन गाउँपालिकाले ३.९२ प्रतिशत अर्थात् एक करोड २० लाख ४७ हजार रुपियाँ फिर्ता भएको छ । दोस्रोमा बान्नीगढी जयगढ गाउँपालिकाबाट एक करोड ८५ लाख ९३ हजार रुपियाँ फिर्ता भएको छ । कमलबजार नगरपालिकाबाट दुई करोड, मङ्गलसेन नगरपालिकाबाट एक करोड ८० लाख ६८ हजार, साँफेबगर नगरपालिकाबाट एक करोड ७७ लाख दुई हजार रुपियाँ फिर्ता भएको लेखापाल माझीको भनाइ छ । 

चौरपाटी गाउँपालिकाबाट एक करोड २९ लाख २६ हजार, ढकारी गाउँपालिकाबाट एक करोड ५० लाख ७२ हजार रुपियाँ फिर्ता भएको छ । तुर्माखाँद गाउँपालिकाबाट दुई करोड २४ लाख पाँच हजार, मेल्लेख गाउँपालिकाबाट एक करोड ७३ लाख ४० हजार रुपियाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट अछामका स्थानीय तहमा विनियोजित चार करोड ६५ लाख २८ हजारमा एक करोड दुई लाख ५० हजार रुपियाँ फिर्ता भएको छ । प्रदेशको बजेटको विनियोजनमध्येमा सबैभन्दा बढी कमलबजार नगरपालिकाबाट ६५ प्रतिशत रकम फिर्ता भएको छ । सबैभन्दा कम मेल्लेख गाउँपालिकाबाट ०.२ प्रतिशत रकम फिर्ता भएको छ । 

प्रदेशबाट स्थानीय सरकारलाई विनियोजित रकममा साँफेबगर नगरपालिकामा १९.९ प्रतिशत, चौरपाटी गाउँपलिकामा ३०.९४ प्रतिशत रकम फिर्ता भएको छ । यस्तै तुर्माखाँद गाउँपालिकाबाट ४७.८३, बान्नीगढी जयगढ गाउँपालिकाबाट १९.५१, रामारोशन गाउँपालिकाबाट ३६.२६ प्रतिशत रकम फिर्ता भएको पाइएको छ ।  

प्रतिक्रिया