Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

कैलालीकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ

कैलालीकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ

धनगढी । कैलालीमा मृत भेटिएकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र शव फेला परेको थियो ।  डेढ महिनादेखि बेपत्ता उनको प्रहरीले खोजी गर्दैगर्दा शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो ।

रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा आइतबार उनको शव फेला परेको हो । शव फेला परेपछि अनुसन्धान थालिएकोमा रावलको हत्या आरोपमा हिजै चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार लम्कीचुहा नगरपालिका ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका(६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई हत्या आरोपमा पक्राउ गरिएको हो ।

उनीहरूले मञ्जुको योजनाबद्ध रूपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबीच अंशको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा घटना घटेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा विवेक रावलले वकिललाई भेट्न मसुरिया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए ।

मञ्जु घरबाट हिँडेको दिनदेखि उनको मोबाइल बन्द भएपछि विवेकले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । त्यसपछि खोजी तथा घटनाको अनुसन्धान गर्दैगर्दा बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २सय मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गामुनी च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको अवस्थामा रावलको शव भेटिएको थियो ।

सो क्षेत्रमा मानव कंकालका साथै हड्डीमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता सुरुवाल फेला परेको थियो । सोही कपडाबाट मृतक मञ्जुका छोराले आफ्नी आमाको सनाखत गरेका थिए ।  यस बिषयमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया