Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

अन्तरजातीय बिहेको निहुँमा घरमा आगजनी

अन्तरजातीय बिहेको निहुँमा घरमा आगजनी

जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोलामा अन्तरजातीय बिवाहको निहुँमा घरमा आगजनी गरिएको छ । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घरनै जलाइदिएका छन्  ।

उक्त वडाका २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय एक युवालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । गत साता तातोपानी-४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएकाछन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

मुकुन्दका दाजु भरत नेपालीकाअनुसार आईतबार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएकाछन् । जातीयताका आधारमा गरेको यो अत्याचार विरुद्ध कानुनी रुपमा अगाडि बढेको मुकुन्दका दाजु भरत नेपालीले बताउनुभयो । आगलागीको खबर आएपछि तातोपानीको हाँकुमा रहेको प्रहरी चौकीका असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा घर पूरै क्षतिग्रस्त भइसकेको हाँकु प्रहरी चौकीमा कार्यरत असई गिरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी जोशीकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीबाट ६५ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदायछन् । स्थानीय दलित समुदायका अगुवाहरूले गैरदलित समुदायकी किशोरी ‘विवाह’ गरेकै कारण घर जलाइएकोमा उक्त गाउँका स्थानीयवासिले आक्रोश पोखेका छन् ।

भरतले बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए । निवेदनका आधारमा हिम्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया