Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०४ जेठ २०८१

गहन विषयमाथि फितलो फिल्म- 'म यस्तो गीत गाउँछु २'

गहन विषयमाथि फितलो फिल्म- 'म यस्तो गीत गाउँछु २'

कथाको प्रस्तुति, दृश्यभाषा र पात्रहरुको अभिनयले फिल्ममा देखाइएको संसारलाई दर्शकले सजिलै विश्वास गरिरहेका हुन्छन् । त्यही विश्वासले दर्शक फिल्मको कथा, पात्रहरुमा आफैंलाई देख्छन्, भेट्छन् अथवा त्यसमा बाँधिन्छन् । तर त्यही दृश्यले कथाको संसार सिर्जना गर्न सकेन भने, फिल्म कस्तो बन्छ ? सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २' यसैको उदाहरण बनेको छ ।

संवादमार्फत विश्वास गरिदिनुपर्ने दृश्य, बासी प्रेमकथा, अनि कलाकारहरुको अपरिपक्व अभिनयले फिल्मलाई सम्पूर्ण रुपमा फितलो बनाइदिएको छ । फिल्मले उठाएको विषयलाई पनि न्यायपूर्ण ढंगले प्रस्तुत गरिएको छैन । गहन विषयलाई चुस्स छोएर रोमान्स, गीत, ड्रामाले भरिपूर्ण मसालेदार फिल्म बनाउने चक्करमा निर्देशक थापाले आफ्नो निर्देशकीय सिर्जनशिलतालाई खुम्चाइदिएका छन् ।

हलिउड फिल्म, 'अ स्टार इज बोर्न', त्यही फिल्मबाट प्रभावित बलिउड फिल्म 'आशिकी २'को थिमसँग नजिक देखिने यो फिल्मको कथामा खासै नौलोपन पनि भेटिन्न ।

संगीत क्षेत्रसँग जोडिएका दुई पात्रहरुको कथा फिल्ममा भनिएको छ । पल विक्रम शाह गायनमा निकै हिट छन् । उनका गीतहरु उतिकै चर्चित । विदेशका सो होस् या कुनै ठूला कार्यक्रम, उनकै डिमाण्ड छ जताततै । गायनमा उनले पाएको स्टारडम सहरमा कसैको छैन भन्दा हुन्छ । थुप्रै फ्यान कमाएका छन् । फ्यानमध्येकी एक हुन्, छाया । उनी पलको ठूलो फ्यान । कोठाका भित्ता पलकै तस्बिरले सजाएकी छन् । बुवाकै कारण उनी संगीत साधनामा लागिन् । गायिका बनेर दुनियाँलाई आफ्नो आवाज सुनाउने छायाको ठूलो सपना छ । तर इलामकी छायाले गाउने राम्रो प्लेटफर्म भेटेकी छैनन् । गाउँमै आयोजित एक कार्यक्रमबाट नजिक बनेका पलले उनलाई त्यो प्लेटफर्म दिने तयार हुन्छन् ।

त्यसपछि यी दुई पात्रको जीवनमा आउने आरोह-अवरोहले नै फिल्मको प्रमुख कथा हो । पल र छायाको जीवनमा आउने आरोह-अवरोहलाई एउटै गीतमा देखाइएको छ । फिल्मको केन्द्रीय द्वन्द्वले पनि त्यही गति समातिदिँदा दर्शकले पात्रहरुको संघर्ष अनुभव गर्नै पाउँदैनन् । पटकथा कसिलो लेखिएको छैन भन्ने प्रमाण हुन् यी ।

पललाई 'स्टार गायक'को रुपमा फिल्ममा प्रस्तुत गरिएको छ । तर, एउटा अन्तर्वाता, टेलिभिजनमा बज्ने एउटा गीतले खासै उनको चरित्रलाई 'स्टार गायक'को रुपमा स्थापित गरेको छैन । संवादमार्फत नै उनी स्टार हुन् भन्ने बुझिदिनुपर्छ । युट्युबर 'एक्सक्लुसिभ डट कम'ले मात्र पच्छ्याउने गायकलाई स्टार कसरी मान्ने ? दृश्यले खासै बोल्न सकेको छैन । छायाको चरित्र चित्रणमा उस्तै समस्या भेटिन्छन् । फिल्ममा प्रयोग गरिएका ठूल्ठूला संवादले खासै दृश्य, परिस्थिति अनि परिवेशसँग मेल खाएको छैन ।

कमजोर संवाद फिल्मको अर्को समस्या हो । पल र छायाबीचको प्रेमलाई विश्वासिलो रुपमा स्थापना गर्न फिल्म चुकेको छ । उनी दुईबीचको प्रेम अस्पष्ट हुँदा पलले छायाका लागि गरिदिने सबै संघर्ष र त्याग दर्शकले महसुस गर्नै सक्दैनन् । त्यसैले पर्दामा पात्र रोइरहे पनि दर्शकको मन दुख्दैन । कथ्य शैलीमा 'कज एण्ड इफेक्ट' नहुँदा फिल्ममा दर्शकको आँखा अडिरहँदैन । त्यसमाथि जबर्जस्त गीतहरु घुसाइएका छन् । ती गीतले कथाको 'मुड'मा प्रभाव पार्दैन, न कथ्य शैलीलाई टेवा नै पुर्‍याउँछ ।

युट्युबर 'एक्सक्लुसिभ डट कम' र 'जँड्याहा'को चरित्रलाई बढी नै तन्काइएको छ । प्राविधिक पक्षमा पनि समस्या देखिन्छ । केही दृश्यहरुमा प्रयोग गरिएका भिएफएक्स त आँखालाई बिझाउने किसिमका छन् । फिल्मको सम्पादन त्यतिकै हतारमा गरिएको देखिन्छ । केही दृश्यको सम्पादनमा 'जर्क' दर्शकले नोटिस गर्ने । अर्जुन पोख्रेलका संगीत अनि शैलेन्द्र प्रधानको पार्श्व ध्वनी भने राम्रा पक्ष हुन् ।

पछिल्लो समय 'रामकहानी'बाट निर्देशकीय प्रशंसा चुमेका निर्देशक थापाले यस फिल्ममा विषयवस्तु पस्किन त खोजेकै हुन्, तर त्यसको प्रस्तुतिकरणमा उनको निर्देशन खस्किएको छ । शिवम अधिकारी र दिनेश न्यौपानेद्वारा लिखित पटकथामा ट्रिटमेन्ट आवश्यक छ । छायाको भूमिकामा पुजा शर्माको अभिनय उनले अन्य फिल्ममा गरे जस्तो नै छ । अभिनयमा उनको मिहिनेत देखिन्न । गायिकाको भूमिकामा देखिएकी उनले फिल्ममा गाएको पनि लिपसिंक गरेजस्तै देखिन्छ ।

अभिनेता पल विक्रम शाह(वास्तविक नाम नै फिल्ममा उल्लेख) को अभिनयमा पनि थुप्रै समस्या देखिन्छ । छायाका बुवाको भूमिकामा भने हरिहर शर्माले जीवन्त अभिनय गरेका छन् । कलाकार दिनेश डिसी, राजा राजेन्द्र पोख्रेलको अभिनय पनि चरित्र सुहाउँदो छ । गम्भीर फिल्मका पारखीका लागि यो फिल्म रुचीकर नहुन सक्छ । तर पल र पुजाका फ्यानले भने फिल्मलाई मन पराउन सक्छन् ।

प्रतिक्रिया