Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

चुनावी तयारीमा ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने माओवादी रणनीति

चुनावी तयारीमा ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने माओवादी रणनीति

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनको तयारी थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सातवटै प्रदेश समितिलाई सर्कुलर पठाउँदै स्थानीय तह निर्वाचनको तयारीका लागि दुई बुँदे सर्कुलर पठाएका छन् । 

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारीको कामलाई प्रभावकारी बनाउन परिपत्र जारी गरेका हुन् । सर्कुलरमा संगठन सुदृढीकरण तथा विस्तार र निर्वाचन तयारीसम्बन्धी काम गर्न भनिएको छ । 

पहिलो बुँदाअन्तर्गत विधानअनुसार सबै तहको संगठन विस्तार तथा पूर्णता दिने, परिचालन गर्ने, निर्वाचन केन्द्रीत तयारीको योजना बनाई कार्यान्वयन गर्ने भनिएको छ । 

त्यसैगरी पूर्वजनमुक्ति सेना, स्थानीय जनसरकारका पदाधिकारी र सदस्यहरु, पूर्णकालीन कार्यकर्ता, सहिद परिवार, घाइते, अपाङ्गता भएका योद्धा र उनका परिवारसँग भेटघाट गरी पार्टीमा सक्रिय बनाउने भनिएको छ । अन्य पार्टीबाट प्रवेश गर्न चाहने नेता कार्यकर्ता, अन्य स्वतन्त्र व्यक्तित्व र पेशा व्यवसायीहरुलाई अभियानात्मक रुपमा पार्टीमा प्रवेश गराई उपयुक्त जिम्मेवारी प्रदान गर्ने भनिएको छ । 

सबै वडा र टोलहरुमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्ने पनि पहिलो बुँदामा उल्लेख छ । 

ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने

त्यसैगरी दोस्रो निर्वाचन तयारी बुँदामा ज्योतिषी, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने रणनीति उल्लेख छ । कम्युनिस्टहरुले धर्मलाई अफिस र रुढिवादी परम्परामा विश्वास नगर्ने भए पनि माओवादीले भने धर्म र परम्परालाई चुनावी अभियानमा उपयोग गर्ने रणनीति लिएको छ । 

दोस्रो बुँदाको साँतौं नम्बरमा माओवादीले यो कुरालाई उल्लेख गरेको छ । जसमा भनिएको छ, ‘वडामा सकारात्मक प्रभाव पार्ने सक्ने व्यक्तिहरु, स्थानीय शिक्षक, कर्मचारी, स्थानीय क्बलहरुसँग आबद्ध युवाहरु, विभिन्न धार्मिक समूह र प्रतिष्ठानसँग आबद्ध व्यक्तिहरु, ज्योतिष, धामी झाँक्री र धर्म गुरुहरुको नामावली संकलन गर्ने र उनीहरुको राजनीतिक झुकाव आवश्यकता एवं समस्याहरुको पहिचान गर्ने ।’ 

चुनावी तयारीअन्तर्गतको सर्कुलरमा पालिकामा केन्द्रीय सदस्य वा वरिष्ठ नेताको नेतृत्वमा निर्वाचन मूल परिचालन समिति बनाउने पनि उल्लेख छ । 

वडा स्तरमा संगठित सदस्यहरु, जबस मोर्चा र पेशागत संगठनका नेताहरु, पार्टी समर्थक बुद्धिजिबी र विषय विज्ञहरु सम्मिलित निर्वाचन परिचालन समिति बनाउने पनि भनिएको छ ।   
अध्ययन सर्भेक्षण तथा विश्लेषण, स्वयंसेवक परिचालन, सूचना सञ्चार तथा प्रचार व्यवस्थापन लगायतका उपसमितिहरु बनाउन पनि निर्देशन गरिएको छ । सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार गर्ने पनि भनिएको छ । 

सूचना सञ्चार र प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न वडा स्तरमा सूचना प्रविधि विज्ञ सहितको सञ्चार तथा प्रचार इकाई बनाउने र सामाजिक सञ्जालहरु समेतको व्यापक प्रयोग गर्ने पनि माओवादी रणनीति रहेको छ । 

प्रतिक्रिया