Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

सेतीलोकमार्ग परियोजना : कर्मचारी विहिन कार्यालय

सेतीलोकमार्ग परियोजना : कर्मचारी विहिन कार्यालय

समृद्धिसंग जोडिएको बहु प्रतिक्षित सेती लोकमार्गको निर्माणमा निकै सुस्तता देखिएको छ  । स्थानीय , प्रदेश र केन्द्र सरकारको प्रथामिकतामा नपरेको सेति लोेकमार्ग अछामको कार्यालय कर्मचारी विहिन् भएको छ ।  साँफेबगर स्थित कार्यालयमा सडक डिभिजन कार्यालयका कर्मचारीले कार्यालयको काम हेरी दिने गरेका छन् ।

एउटै स्थानमा रहेका सडक डिभिजन र सेति लोक मार्ग  दुवै कार्यालयमा २ जना सव इन्जिनियर , १ जना इन्जिनयरले दुवै कार्यालयको प्राविधिक काम हेरी रहेका छन् । सडक डिभिजन कार्यालयमा १२ जना सव इन्जिनयर र ४जना इन्जिनियरको दरबन्दि छ भने सेति लोकमार्ग परियोजनामा ४ जना सव इन्जिनियर र २ जना इन्जिनियरको दरबन्दि रहेको छ  । २२ जना दरबन्दि रहेका २ कार्यालयमा ४ जना कर्मचारी मात्रै हुदा कार्य सम्पादनमा समस्या रहेको एक जना कर्मचारीले बताए । ‘ दुवै कार्यालयमा प्राविधिक , प्रशासन र लेखामा कर्मचारी नै छैनन् ।  दुई वटै कार्यालय प्रमुखको जिम्मेवारी इन्जिनियरलाई दिइएको छ । अहिले नाम मात्रैका कार्यालय छन् । काम केहि पनि गर्न सकिएको छैन ’  उनले भने , ‘ कार्यालयले गर्ने कामको भौतिक प्रगति र वित्तय प्रगति पनि भएको छैन । न त कमैचारी सरकारले पठाउँछ , दुर्गम भनेर न त कर्मचारी आफैं आउन मान्छन् । कार्यालय संचालनको लागि कसैले वास्ता गरेको देखिदैन । ’

कार्यालयमा कर्मचारी नहुदा समस्या भएको कार्यालय प्रमुख इन्जिनियर दमन विष्टले बताए । उनका अनुसार नत कार्यालयमा कर्मचारी छन् न त परियोजनाको भौतिक र वित्तय प्रगती छ । ‘ उपलब्ध कर्मचारीले काम गरिरहेका छौं । दरबन्दि अनुसारका कर्मचारी छैनन् ।’ उनका अनुसार गत आर्थिक वर्षमा सेती लोकमार्गका लागि आएको २० करोड बजेटमा ३ करोड मात्रै खर्च भएको छ भने १७ करोड रुपैयाँ काम गर्न नसकेर फ्रीज गएको छ । चालु आर्थिक वर्षमा परियोजनाको लागि ३० करोड बजेट विनियोजन भएको छ । तर कुनै पनि क्षेत्रमा काम अगाडी बढाउनका लागि ठेक्का प्रक्रीया अगाडि बढेको छैन ।

कार्यालयका अनुसार सेती लोकमार्गले अछाममा ८० किलोमिटर स्थान ओगटेको छ । जसमा ५४ किलो मिटर सडकमा ट्रयाक खुलीसकेको छ भने २६ किलोमिटर बाँकि रहेको छ । बाजुरा जिल्लामा पर्ने १२ किलोमिटरमा काम सुरु नै भएको छैन । बझाङ जिल्लामा पर्ने ३८ किलोमिटर सडकको ट्रयाक खुलिसक्यो भने डोटिमा पर्ने ४२ किलोमिटरको काम सुरु भएको छैन । कैलालीमा पर्ने ७० किलोमिटर मध्ये २८ किलोमिटर सडकमा ट्रयाक खुलेको छ भने ४२ किलोमिटरमा अझै खुल्न सकेको छैन । 

सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघि देखिनै चलेको भएपपनि अहिले सम्म अपेक्षा अनुसार कामले गति लिन नसक्नुमा सरोकारवालाको कमजोरी रहेको स्थानीको भनाइ छ । २०७२ साल भदौ ३१ गतेको नेपाल सरकारको निर्णयानुसार सेती राजमार्ग सडक योजना अछाममा स्थापना भएको हो । कैलालीको टिकापुर देखि बझाङको चैनपुरसम्म सेतीलोक मार्गको लम्बाई २ सय ४२ किलोमीटर रहेको कार्यालयले जनाएको छ । जसमा उत्तरीखण्डको लम्बाई  ११० किलोमीटर छ । सन २०१२ मा आयोजनाको डिपिआर तयार भएको थियो । आयोजनाले दुई छिमेकी देशका नाकालाई छोएको छ । टिकापुर नाकाबाट भारत र तालकोट बझाङले चिनलाई छोएको छ ।  टिकापुर – खप्तड छान्ना गाउँपालिका ( बझाङ ) र  खप्तड छान्ना गाउँपालिका (बझाङ) – तालकोट गरि आयोजनालाई दुइ  खण्डमा विभाजन गरिएको छ ।सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ । 

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाई अहिले करिब २ सय ७० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि सो मार्गको लम्बाई १ सय ३५ किलोमिटरमा झर्नेछ । ‘सेती लोकमार्ग निर्माण भएपछि बिहान कैलाली गएर साँझ अछाममा पुग्न सकिन्छ  । करिब १३५ किलोमिटर दुरी कम हुनेछ । यो काम समयमै सम्पन्न होस भन्नका लागि हामी पटकपटक लागि रहेका छौं ’ जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुवँरले भने , ‘यस क्षेत्रका बासिन्दाहरुको आवतजावतमा समय र खर्च आधा भन्दा कम हुनेछ । सेती लोकमार्ग दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महत्वपुर्ण कोरिडोरका रुपमा पनी लिईएको छ ।’ सेती लोकमार्ग निर्माण भए नेपालको चार धाम मध्येको एक बैद्यनाथ धाम क्षेत्र, जडिबुटीको प्रचुर सम्भाव्यता, रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवद्र्धन तथा सहज पहुँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्ने  कुवँर बताउछन् । ‘बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि शहर बजार सम्म सहज पहुँच हुनेछ ।’  उनले भने ।  

 

प्रतिक्रिया