Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

घर डढाएर खरानी बेच्न चाहने स्वप्नद्रष्टालाई कुरीकुरी !

घर डढाएर खरानी बेच्न चाहने स्वप्नद्रष्टालाई कुरीकुरी !

कन्टिर–बाबूको मनमा कहिलेकाहीँ बडो अजिब–अजिब खयाल आउँछ । विभित्र–विचित्र कुरा सम्झिन्छन् ।

मैथिलीमा एक उखान छ– मा करए कुटान–पिसान आ बेटाक नाम दुर्गा दत्त । अर्थात्, आमाले मिहिनेत–मजदुरी गर्ने अनि छोरोचाहिँ सान देखाउँदै सडक चहार्ने । उही एक जमानामा डेजी बरायलीले गाएको ‘भैँसी लड्यो है माया’ गीतमा भनिएको पारा– छोरोचाहिँ है माया हिँड्दछ डुलेर !

कन्टिर–बाबूको दिमागमा आज यस्तै–यस्तै कुरा नाचिरहेको छ । अरे सपना त देख्न पाइयो नि ! जे–जे देखे पनि भयो । पूरा गर्नु नपर्ने सपनाको भुलभुलैयामा रमाउने वातावरण जति बनाए पनि भयो ।

तपाई अहिले सुनिरहनु भएको छैन ? चुरेको ढुङ्गा–गिट्टी बेचेर व्यापार घाटा कम गर्ने रे ! ओल्बाभन्दा भिजन भएका नेता नेपालमा अर्को छैनन् रे ! नेपालकै राष्ट्रपतिले पत्र लेखेका कारण अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई खोप सहयोग गर्ने निर्णय गरेको हो रे !

कन्टिर–बाबू यस्ता कुरा सुनेर पेट मिचिमिचि हाँस्छन् र कुरी–कुरी भन्छन् । अब कसैले अमेरिकामा बाख्रा हराएको सन्दर्भलाई कसैले नेपालमा स्याल कराएको सन्दर्भसँग ल्याएर जोड्छ भने कन्टिर–बाबू नहाँसेर पनि के गरुन् ?

अनि आफ्नो देशलाई मरुभूमि बनाएर अरू देशलाई हरियाली बनाउने सपना देख्ने, आफ्नै घर डढाएर खरानीको व्यापार गर्ने उद्देश्य राख्नेहरूलाई कुरीकुरी नभनेर कन्टिर–बाबूले के भनुन् ?

तथापि कन्टिर–बाबू तत्काल आफूलाई सम्हाल्छन् र अर्काको सपना देख्न पाउने अधिकारको सम्मान गर्छन् । कोही आफ्नो धरातलीय यथार्थ बिर्सेर चौतर्फी गुड्डी हाँक्दै हिँड्छ भने त्यसता अबुझ–सठहरू प्रति कन्टिरबाबू राम–राम भन्न सक्छन्, काँध थाप्न सक्दैनन् । बरू उल्लिखित मैथिली उखान सम्झिएर मन सम्झाउँछन् ।

प्रतिक्रिया