Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २७ बैशाख २०८१

पौष्टिक खाना पाउँदैनन आइसोलेसनका संक्रमित

पौष्टिक खाना पाउँदैनन आइसोलेसनका संक्रमित

मंगलसेन नगरपालिमा –५ की ३४ वर्षीया महिला र उनका श्रीमानलाई दुइ साता अघि कोरोना संक्रमण भयो । १७ दिनसम्म उनी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा बसिन् ।  श्वास्प्रश्वासमा समस्या आएपछि उनका श्रीमान्लाई अक्सिजन दिनु पर्यो । स्वास्थ्यकर्मी बाट उपचार पनि राम्रै  भयो । तर , खानपिन राम्रो नभएर दुवै जना कमजोर हुदै गए ।  ‘ बिहान चिया बिस्कुट दिन्थे ।  ११ बजेतिर खाना अनि साझ खाना दिन्थे । मासुको त के कुरा दिउसो चियासम्म हुँदैन’ उनकी श्रीमतीले भनिन् ,‘ हाम्रा बुढाबुढी दुवैलाई कोरोना भयो । घरमा ससना केटाकेटी मात्र छन् । बाहिर बाट खाना ल्याइदिने पनि कोहि भएनन् । कोरोनाले गर्दा गम्भिर बिरामी भएको बेला राम्रो खाना नपाउदा झन् कम्जोर भइयो ।’

आर्थिक अवस्था कमजोर भएका मंगलसेन ५ का एक दलित दम्पत्तीलाई पनि  दुइ साता अघि कोरोाना देखियो । श्वास फेर्न गाह्रो हुने भएपछि उनकी श्रीमतीलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखियो । श्रीमान श्रीमती दुवै मजदुरी गरेर जिविकोपार्जन गर्छन् । कहिले भारी बोक्ने , कहिले ढुंगा बोक्ने यस्तै काम गर्दागर्दै दुुवैलाई संक्रमण देखियो र आइसोलेट हुनु पर्ने अवस्था आयो । तर अस्पतालको १३ दिनको बसाइमा खानपिनको तालमेल नमिल्दा अहिलेसम्म गाह्रो भएको उनको भनाइ छ । ‘ अस्पताल भित्रै आइसोलेसनमा भयौं । क्यान्टिनबाट जे दियो त्यहि खानै पर्यो । दाल भात तरकारी बाहेक अरु केहि थिएन । कहिलेबाहि बिहान चियास“ग बिस्कुट दिन्थे । त्यत्ति नै हो’ उनले भने ,‘ आफू घरमा भएको भए पनि कसैसंग उद्यारो मागेर पनि राम्रो खाना खुवाउथे । म पनि बाहिर आउन नमिल्ने , अस्पतालबाट पोसिलो खाने कुरा केहि पनि नपाइने । झन् कमजोर बनायो । ’  

मंगलसेन ३ का अर्का कोरोना संक्रमितका कुरुवाको अनुभव पनि उस्तै छ । अस्पताले दिने खानालाई मात्रै कोरोना जित्न नसकिने उनले बताए । ‘ संक्रमितले के खाएमा कोरोना जितिन्छ भन्ने बारे सबैलाई ताहा छ । अस्पतालमा त पौष्टिक खाजा भनेर चिया बिस्कुट दिन्छन् । यस्तो तरिकाले अस्पताल जाने बिरामीलाई झन् गाह्रो हुन्छ ।’ पहिलो चरणमा संक्रमित भएका व्यक्तीलाई बिहान खाना , दिउसो खाजा र बेलुकाको खानाको व्यवस्था भएपनि अहिले बिहान बेलुकाको खाना मात्रै दिइएको अस्पतालको क्यान्टिनका संचालक रतन बोहराले बताए ।‘ अहिले माछा मासु पनि दिने गरेको छैन । अस्पतालबाट जे दिनु भन्ने खबर आयो हामीले त्यहि दिने हो ।’ उनले भने । संक्रमितका कुरुवालई पनि संक्रमितले खाने जस्तै खाना दिने गरेको उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण बेगले फैलिरहेको छ । अहिले अस्पतालहरू संक्रमितले भरिभराउ छन् । गत वर्षको तुलनामा मृत्युदर पनि बढी देखिएको छ । यस्तो अवस्थामा कोरोना लागिहाल्यो भने के खाने, कति खाने, केका लागि खाने ? यसबारे जानकारी राख्दा फाइदाजनक हुन्छ । घरमै बसेर डाक्टरले भनेअनुसार खानपिनमा ध्यान दिइयो भने सम्भावित हानिबाट बच्न सकिन्छ । डाक्टरहरू भन्छन्, ’कोरोना निको हुने कुरा व्यक्ति स्वयम्मा भर पर्छ । त्यसैले खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ । जोसँग रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) धेरै छ, उसले रोगसँग सजिलै लड्न सक्छ । त्यसैले आइसोलेसनमा रहेका संक्रमितलाई इम्युनिटी पावर बढाउने खानेकुरा खुवाउनुपर्छ ।

जिल्ला अस्पतालले नै चाउचाउ र बिस्कुटजस्ता तयारी खाजा दिने गरेको छ । तर, यस्ता खानेकुराले झन् असर गर्न सक्ने जनस्वास्थ्यविद्हरू बताउछन् । 
  ः ÷कान्तिपुर


 

प्रतिक्रिया