Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

असारे विकासको चटारो : बजेट सक्न भ्याइनभ्याइ

असारे विकासको चटारो : बजेट सक्न भ्याइनभ्याइ

मेनुका ढुंगाना (अछाम) 
अछाममा आर्थिक  वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च  गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । स्थानीय तहरुमा असार भित्रमा पुँजीगत सक्न भ्याइनभ्याइ भइरहेको छ । विकास निर्माणका लागि छुट्ट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन जनप्रतिनिधि ,कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका छन् । यो आवमा भने लकडाउन काम गर्न नसकेपछि अहिले कामको चटारो बढेको छ ।
स्थानीय तहले आफ्नै विकास बजेट खर्च गर्न नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष सकिनै लाग्दा विभिन्न स्थानीय तहमा फरकफरक आयोजना सम्पन्न गर्न बजेट पठाएको छ । ५ लाख देखि माथिका योजना असाढ २५ अघि सक्नु पर्ने निर्देशन दिँदै प्रदेश सरकारले बजेट पठाउँदा हतारमै काम गराइ रहेको ढकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर वलीले बताए । ‘पालिकाकै योजना लकडाउनको कारणले जेठ अन्तिमबाट सुरु भए । प्रदेशबाट आएका योजनाको असाढ १५ सम्म  सम्झौता भएका छन् । १५ गते सम्झौता गरेर २५ गते योजना सम्पन्न हुन सक्दैन ’ , उनले भने , ‘प्रदेश सरकारबाट बजेट नै ढिलो आयो । हतारमा उपभोक्ता समिति गठन भए । समयमा काम सम्पन्न गर्न उपभोक्ता समितिलाई चुनौती छ ।’  लकडाउनले गर्दा गाउँपालिकाका योजना पनि संचलान हुन नपाएको उनले बताए । 
प्रदेश र केन्द्रबाट आउने योजना विवादित हुने गरेको र ति योजनाको कार्य संचालन र भुक्तानीको लागि कर्मचारीलाई सांसद तथा नेताहरुले नै दबाब दिने गरेको एक कर्मचारीले बताए  । ‘प्रदेशबाट योजानाका नाम समेत मिलेको छैन । विवादित छन् । मनपरी तरिकाले योजना आउँदा स्थानीय तहलाई काम गर्न अन्योल छ ’ एक कर्मचारीले भने ,‘कार्यकर्ता खुसी पार्ने बजेट र योजना आउँछन् । हतारमा बजेट पठाएकर भुक्तानी लिन खोज्नुले यहि प्रस्ट हुन्छ ।’
कमलबजार नगरपालिकामा पनि एक हप्ता अघि सुदूरश्चिम प्रदेश सरकारबाट विभिन्न योजनाको नाममा बजेट आयो । तर त्यो बजेट छमेटमे समयमा कहाँ  खर्च गर्ने भन्ने अन्योलता रहेका कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्ट बताउछन् । ‘प्रदेश सरकारबाट यत्रि धेरै बजेट असाढ मसान्तको नजिकमा आयो । हामीले निर्णय गरेर क्रमागत योजना अन्तरगत राखेका छौं ।’ नगर प्रमुख विष्टले भने , ‘आर्थिक वर्षको अन्तमा नगरले कहाँबाट बजेट हालेर सयुँक्त योजना बनाउन सक्छ र ? ‘प्रदेश सरकारले पठाउने बजेट समयमै पठाउनु पर्यो , आर्थिक वर्षको अन्त्यमा आउने बजेटले प्रभावकारी काम गराउन सकिदैन । फ्रिज जाने सम्भावना धेरै छ ।’ नगरमा बजेट आउँदा खुसी हुनुपर्ने बेला खर्च गर्न मुस्किल देखिदा चिन्तत तुल्याएको उनको भनाइ छ । 
देशको संरचना बदलिए पनि असाढमा नै बजेट सक्न भ्याइनभ्याइ गर्ने प्रवृतिमा कमि नआएको शिक्षक गमन थापा बताउछन्  । ‘असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझ्न सकिन्छ । र, यही असारे विकासले आर्थिक अनियमितता बढाएको छ ।’ उनले भने , ‘यसरी असार लागेपछि बजेट सक्नकै लागि विकास निर्माणका काममा चासो दिने यो प्रवृत्ति गलत छ जसलाई निरुत्साहित गर्नैपर्छ ।’
 


 

प्रतिक्रिया