Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

अछामको बहुप्रतिक्षित चित्रे पुल ८ वर्षपछि सम्पन्‍न हुँदै

अछामको बहुप्रतिक्षित चित्रे पुल ८ वर्षपछि सम्पन्‍न हुँदै

अछाम- अछामको बहुप्रतिक्षित चित्रेपुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण कार्यमा ढिला गरेको भन्दै विवादित समेत बनेको चित्रेको मोटरेवल पुलको ९० प्रतिशत काम सकिएको हो । मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकालाई जोड्ने पुल बैशाख भित्र सम्पन्न गरिसक्ने पूर्वाधार कार्यालय अछामका प्रमुख जंग थापाले बताए ।

२२ महिनामा चित्रे पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ०७० साल भदौमा अनक नन्देगडा तुलसी जेभीसँग सम्झौता भएको थियो । तर ८ वर्ष पुग्न लाग्दा समेत पुल निर्माणको कार्य सम्पन्न हुन सकेको छैन ।

पेटी ठेक्का पाएको नन्देगडाले काम सम्पन्न गर्न नसकेपछि र अहिले मुख्य ठेकेदार अनक कन्ट्रक्सनको निगरानीमा काम भइरहेको छ । थापाले भने,‘निकै तोकेता गरेपछि अहिले मुख्य ठेकेदार अनक कन्ट्रक्सनको निगरानीमा काम भइरहेको छ । चार वटा स्ल्याब हाल्ने काम सकिएको छ अब फिनिसिङको काम मात्र बाँकी छ ।

मंगलसेन र चौरपाटी गाउँपालिकाको सिमानाको बुढीगंगा नदीमा बन्न लागेको उक्त पुलको स्थानीय अनक नन्देगडा तुल्सीदुर्गा जेभीसँग तत्कालिन जिल्ला विकास समितिले गरेको सम्झौता अनुसार सय मिटर लम्बाईको पक्कीपुल भ्याट बाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुपर्ने थियो । पुलको रकम बढेर अहिले ७ करोड २९ लाख पुगेको अनक कन्ट्रक्सनका प्रतिनिधि राम प्रसाद न्यौपानेले बताए । उनले भने पहिले नै स्टेमेटमा धेरै विषय छुटेको रहेछ, यसअघि सम्झौता अनुसार मुख्य रड, कंक्रिट, एउटा स्ल्याब स्टिमेटमा उल्लेख नभएका कारण पुल निर्माण ढिलाइ भएको हो ।

पुल निर्माण कार्य हेर्दा अब छिटै निमार्ण सम्पन्न हुने देखिएको स्थानीय भरत बिकले बताए । उनले भने,‘ढिला सुस्ती निकै भयो,अब पुल पूरा हुन्छ भन्ने आशा छ, यो पुल बनेपछि पवित्रस्थल त्रिवेणी, रामारोशन, खप्तड, बैधनाथ, पञ्चदेवल लगायत पर्यटकीय क्षेत्रको यात्रा गर्ने पर्यटकलाई सजिलो हुन्छ । यो पुल सेती लोकमार्ग र मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ ।

लामो समय निर्माण कार्य ठप्प हुँदा विवादमा समेत तालिएको पुलको काम अगाडि बढेपछि स्थानीयहरु उत्साही देखिएका छन् । पुल बनेपछि साँफे मंगलसेन आवत जावतमा निकै सजिलो हुने उनीहरु बताउँछन् । साँफेबगरमा पूर्वाधार कार्यालय स्थापनापछि जिल्लामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको दुनीरवा, बिरा र चित्रे पुलको निर्माण कार्य अगाडि बढेको छ ।

प्रतिक्रिया