Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्रले हरिद्वारमा भने, ‘सनातन धर्ममाथि बाह्य अतिक्रमण भयो’

पूर्वराजा ज्ञानेन्द्रले हरिद्वारमा भने, ‘सनातन धर्ममाथि बाह्य अतिक्रमण भयो’

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले सनातन हिन्दू धर्म र परम्परामाथि बाह्य अतिक्रमण भएको बताएका छन् । भारतको हरिद्वारस्थित निरञ्जनी अखडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्तमहन्त र साधुहरूलाई सम्बोधन गर्दै पूर्वराजाले धर्म बचाउने र संस्कृतिको रक्षा गर्ने दायित्व आएकोसमेत उल्लेख गरे ।

नेपाली भाषामा गरिएको तीन पेज लामो सम्बोधनमा उनले कुनै राजनीतिक विषयबारे भने बोलेनन् ।

‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो । अब हामीले हाम्रो धर्म बचाउनु छ’। उनले भने, ‘हाम्रो संस्कृतिको रक्षा गर्नु छ । हाम्रा मठमन्दिर देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा नदीहरूको प्रवाह स्वच्छ पार्नु छ ।’


उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा पूर्वराजा शाहलाई हिन्दू सम्राटको हैसियतमा सहभागी गराइएको छ । कुम्भमेलाको आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले उनलाई नेपाल नरेश, हिन्दू सम्राट, हिन्दू राजाको हैसियतमा निमन्त्रणा पठाएका थिए । स्वागत समारोहमा शाहले हिन्दू सम्राटको हैसियतमा सम्बोधन गरेका थिए ।

पूर्वराजा शाहले जल, स्थल र आकाशलाई विषाक्त बनाउँदै लगिएको अहिलेको प्रदूषणयुक्त विश्वलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य रहेको पनि उल्लेख गरे ।

‘भारत वर्ष, हाम्रो आर्यावर्त र भरतखण्ड, यो भूखण्ड–हाम्रा यी हिमशृंखला, हाम्रा यी अनेकौँ नदीको महत्व महान् छ,’ उनले भनेका छन्, ‘हजारौँ वर्षअघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ ।’

आयोजकका अनुसार आज हरिद्वारस्थित गंगा नदीमा बेग्लै रथमा सवार गराएर पूर्वराजा शाहलाई शाही स्नान गराउने तयारी छ ।

पूर्वरानी कोमलसहित पूर्वराजपरिवारसहितको टोली बिहीबार भारत प्रश्थान गरेको हो ।


अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष महन्त नरेन्द्र गिरी, मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष रवीन्द्र पुरी लगायतका अन्य थुप्रै साधु सन्तले पूर्वराजाको स्वागत गरेका थिए ।

हरिद्वार पुगेका पूर्वराजा शाहले दक्षिणकालीको पूजा अर्चनासमेत गरेका छन् । यसअघि पूर्वराजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए ।

हिन्दूहरुको पवित्र धार्मिकस्थल हरिद्वारमा महाकुम्भका अवसरमा चैत ३० गते पूर्वराजा शाहले हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ । पूर्वराजा शाहका सञ्चार विज्ञ फणीन्द्र पाठकले विज्ञप्ति जारी गरेर महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा शाही स्नानमा सहभागी हुन लागेको जानकारी दिएका छन् ।

यसैबीच, आजै पूर्वराजा ज्ञानेन्द्रले गंगामा स्नानसमेत गरेका छन् । यस दिन अमावस्या र सोमवती अमावस्याको विशेष मुर्हत परेको थियो । शाहलाई महाराजाको मान र दरबार, नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइएको छ ।

शाही स्नान कार्यक्रममा उत्तरखण्डका मुख्यमन्त्री रावतसँगै स्वामी कैलाशानन्द गिरी, , केदारनाथका पिठाधीश लागायत साधु–सन्त उपस्थित थिए । कुम्भ मेलामा सहभागी हुन राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० प्रमुख मोहन भागवत पनि हरिद्वार आएका छन् ।

यसअघि पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने शुभेच्छा राख्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गत जनवरीमा लखनउमा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा आमन्त्रण गरेर ‘नेपालका नरेश’ भनेर सम्मान गरेका थिए ।

नेपालमा राजनीति तरल अवस्था आइरहेका वेला भारतले पूर्वराजा ज्ञानेन्द्रलाई भव्य सम्मान गरिरहेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतले नेपालमा पुनः राजतन्त्रको कार्ड पालेको कतिपयले विश्लेषण गरिहेका छन् । यसबाट राजावादीहरु उत्साही भएको पाइएको छ ।

प्रतिक्रिया