Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

युट्युब हेर्दै नक्कली नोट बनाउने २ जना पक्राउ

युट्युब हेर्दै नक्कली नोट बनाउने २ जना पक्राउ

काठमाडौं - सामाजिक सञ्जाल युट्युबमा भिडियो हेरेर नक्कली नोट बनाउने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका ३ बस्ने रौतहट गुजरा नगरपालिका २ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चान पक्राउ परेका हुन् ।

उनीहरुलाई नक्कलीजस्तो देखिने नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कलीजस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेडबनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कालीमाटी प्रहरी वृत्त प्रमुख अपिलराज बोहोराका अनुसार अभियुक्तहरुले नक्कली नोट बनाउने कला युट्युबमा हेरेर थाहा पाएको बयान दिएका छन् ।

प्रतिक्रिया