Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न सक्दैन - देउवा

ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न सक्दैन - देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ । 

कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए ।

‘ओली सरकार अहिले पनि बहुमतमै छ । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता भएको छैन,’ देउवाले प्रश्न गरे, ‘यस्तो अवस्थामा कांग्रेस कुन तरिकाले सरकारमा जाने ?’ जनताले तेस्रो बनाएका हुन्, सरकारमा गएन किन भन्ने ?

देउवाले जनताले तेस्रो दल बनाएकाले कांग्रेस सरकारमा नगएकोप्रति जनताले कुनै आश्चर्य मान्नु नपर्ने जिकिर गरे । आफू अहिले प्रधानमन्त्री बन्न लालायित नभएको बताए । तर, जिम्मेवारी आए नभाग्ने जिकिर गरे । 

जनताको सेवा गरे सजिलै बहुमत आउँछ
सोही कार्यक्रममार्फत आफ्नो पार्टीका नेता– कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका देउवाले जनताको सेवा गरे सजिलै निर्वाचन जितिने बताए । देशको मालिक जनता भएकाले उनीहरूको सेवा गरे चुनाव सजिलै जितिने उनको भनाइ थियो । ‘हिजो जनताले भोट नदिएकाले हामीले हार्‍यौँ, त्यसकारण आजको दिनमा हामीले जनताले भोट दिने कार्यक्रम गर्नुपर्छ,’ देउवाले भने, ‘जनता देशका मालिक हुन्, सार्वभौमसत्ता सम्पन्न छन् । जसले जनताको सेवा गर्‍यो त्यसले चुनाव जित्ने हो ।’ उनले जनताको सुख–दुःखमा साथ दिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया