Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशङ्का

तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशङ्का

मौका मिल्यो कि कन्टिर–बाबू हातमा रिमोट लिएर टेलिभिजनको स्क्रिनसामु बसिहाल्छन् र ख्याट–ख्याट रिमोटका बटनहरू थिच्न थाल्छन् । यो क्रममा केही राम्रो लागे एकछिन अडिन्छन्, होइन भने रिमोटको बन्द बटन थिच्छन् ।

कन्टिर–बाबूलाई भारतीय टेलिभिजन च्यानलमा देखाइने एक विज्ञापन बडो मन पर्छ … आओ कुछ तुफानी करते है भन्ने डाइलग भएको त्यो विज्ञापन मलाईमात्र होइन, अचेल हाम्रा ओल्बालाई पनि अचेल मन पर्न थाले जस्तो लाग्दै छ ।

उद्घाटन, शिलान्यास अनि प्रदेश एकको भ्रमणका सन्दर्भमा ओल्बाले त्यही तुफानी शैली अहिले चर्चित छ । अरे यार, प्रदेश एकमा एकै दिनमा ३० भन्दा बढी पुलको शिलान्यास, , लगत्तै औद्योगिक ग्राम शिलान्यास, क्यान्सर अस्पताल उद्घाटन ।

यी सबै काम हप्ता दिनभित्रका हुन् । आज–भोलि ओल्वा फेरि प्रदेश १ मा आउने कुरो छ । त्यसो त यो प्रदेश ओल्बाको आधारभूमि हो, आउनु स्वाभाविक हो । तर कन्टिर–बाबूले ओल्बाको यो तारन्तार तुफानी कार्यक्रमको भेउ पाउन सकेका छैनन् ।

सुरुमा सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरे आन्दोलनको आँधी–बेहरी सिर्जना गर्ने धम्की दिँदै हिँडेका ओल्बा पुनःस्थापनाको निर्णयपछि भने बहादुरीका साथ पछि हटे । आफू हार्दा पनि आत्मविश्वासलाई हार्न नदिएका ओल्बालाई थकाइ नलागेको देख्दा कन्टिर–बाबू अचम्ममा परेका छन् । नियम–कानुन, विधान मिचेर हिँड्न मन पराउने बूढाको दमखम भने अनुकरणीय लाग्छ ।

कन्टिर–बाबूलाई ओल्बाको सक्रियता र दमखम भन्दा पनि उनको तुफानी दौडाहाको अर्थ र उद्देश्य के हो ? पत्ता लगाउन मन लागेको छ । कतै उनी संसारका सबैभन्दा धेरै शिलान्यास र उद्घाटन गरेर दुनियाँ आश्चर्यचकित पार्ने प्रधानमन्त्रीका रूपमा गिनिज बुक अफ रेकर्डस्मा कीर्तिमान दर्ता गराउने रहर र योजनामा त छैनन् !

यता, संसद् पुनःस्थापनासँगै सरकारबाट बाहिरिने दिन जति–जति नजिक आउँदै छ, उति–उति ओल्बा सक्रिय हुनुलाई कसै–कसैले पदमा आफू भएकै बेला थाति काम भ्याइहालौँ भन्ने सोच पनि हुन सक्ने टिप्पणी गरेका छन् ।

तर रेकर्ड र कामको कुरा एउटा पाटोमा छ, शारीरिक आवश्यकता र स्वास्थ्यको कुरा अर्को पाटोमा । कन्टिर–बाबूको चिन्ता भने रेकर्ड र कामभन्दा पनि ओल्बाको स्वास्थ्य अवस्थाप्रति बढी छ ।

कन्टिर–बाबू माथामा हात राखेर सोचिरहेका छन्– शिलान्यास, उद्घाटन आदि अरूले गर्दा पनि हुने कुरामा मरिहत्ते पारेर बूढालाई किन दुःख दिइरहेका हुन् ? टिकटक बनाउने चक्करमा कतिपय केटा–केटीको ज्यान गए जस्तै केही तुफानी गरेर देखाउने र रेकर्ड बनाउने चक्करमा बूढाको स्वास्थ्य अवस्था तल–माथि केही भइदियो भने चाहिँ त्यसको जबाफदेही को हुन्छ ?

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया