Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

भगवानले कुनै अन्हेर नगरुन् !

भगवानले कुनै अन्हेर नगरुन् !

कन्टिर–बाबूको भ्रमण यस पटक सुदूरपश्चिमतर्फ केन्द्रित थियो । यसै क्रममा उनी बैतडी पुगेका थिए । यहाँ पुगिसकेपछि भागिरथी भट्टको बलात्कारपछि हत्या भएको चर्चित घटना सन्दर्भले कन्टिर–बाबूलाई नतान्ने कुरै भएन । 

स्थानीय प्रशासन र प्रहरीका अनुसार हत्याको अभियुक्तलाई पक्राउ गरिसकिएको छ । स्मरणीय छ, यस घटनाको अनुसन्धानमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) आफै संलग्न थिए । हुनसक्छ, यसअघि यसै प्रदेशको महेन्द्रनगरमा भएको अपराधी अहिलेसम्म पत्ता लगाउन नसकेको निर्मला पन्तको बलात्कार र हत्याको घटनाका कारण राज्य र प्रहरी प्रशासन बढी सचेत अनि संवेदनशील थियो । यसैले फिल्डमा स्वयं डिआइजीले कमान्ड सम्हालेका थिए ।

तर खासमा यो कुरा कन्टिर–बाबूलाई ठीक लागेको छैन । यो त भयो, काम गर्ने कालु आ मकै खाने भालुवाला बात । स्थानीय प्रहरी–प्रशासनका अनुसार सबै अनुसन्धान उनीहरूले गरे आ जस जति डिआइजीले लिएर गइहाले ।

कन्टिर–बाबूको मनमा अर्काे भित्रिया कुरा पनि खेलिरहेको छ– के अब नेपालका प्रत्येक गाउँ र टोलमा हुने अपराधको अनुसन्धान डिआइजी स्वयम्ले नै गर्ने हो ? के यसो गर्नु सम्भव छ ? के डिआइजीलाई जिल्ला र स्थानीय चौकीका प्रहरीमाथि विश्वास छैन ?

कन्टिर–बाबूलाई यो प्रसङ्गमा चाहिँ हदै भएजस्तो लाग्छ । अरे, प्रहरी–प्रशासन हो, चेन अफ कमान्ड हुनु बहुत जरुरी छ । प्रहरी सन्जाललाई हौसला र ढाढस जरुरी छ । यसको अर्थ यो होइन कि बडकाहरू आफै सोझै मैदानमा कुदिहाल्ने । यसको मतलब यो होइन कि स्थानीय प्रहरी सन्जालमाथि विश्वासै नगर्ने ?

यति बेला कन्टिर–बाबूको मनमा जिज्ञासा उत्पन्न भएको छ– यस घटनापछि अपराध–अनुसन्धानबारे आमजनताको महत्वाकाङ्क्षा बढेको छ । यो नजिरका आधारमा भोलिका दिनमा जनताले हरेक घटनाको अनुसन्धानमा डिआइजीको प्रत्यक्ष उपस्थिति खोज्न थाले भने के हुन्छ ? अपेक्षित डिआइजीको भौतिक उपस्थिति नपाएर जनता नारा–जुलुस गर्न थाले भने के होला ?

कन्टिर–बाबूको प्रार्थना छ– भगवानले यस्तो अन्हेर नगरुन् । तर खुदा न खास्ता भविष्यमा यस्तो स्थिति उत्पन्न भएछ भने स्थानीय प्रहरी–प्रशासनप्रति अविश्वासको मात्रा चुलियो भने देशको हालत के होला ? कन्टिर–बाबूलाई थाहा छैन, कसैलाई थाहा भए बताइदिनुहोला !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया