Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

जहाँ छ त्यहीँ ठिक, कमनिस्टको वर्गशत्रु

जहाँ छ त्यहीँ ठिक, कमनिस्टको वर्गशत्रु

कन्टिर–बाबूलाई हालका दिनहरूमा केही अपवादबाहेक काङ्ग्रेस बडो परिपक्वजस्तो लाग्न थालेको छ । हुन पनि ऊसँग मुलुकको जेठो पार्टी हुनुको नातामात्र होइन, तीन–तीनवटा ठुला क्रान्तिको नेतृत्व गरेको लिगेसी जो छ !

पछिल्लो पटक अदालतबाट भएको संसद् पुनःस्थापनासम्बन्धी निर्णयपछि नेकपाका दुवै विवादित पक्षसँगको सम्बन्धका बारेमा काङ्ग्रेसले जे रणनीति लिएको छ, त्यसले यस पार्टीको परिपक्वता नै सङ्केत गरिरहेको छ भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

होइन यदि यति बेला काङ्ग्रेसले झप्रम वा ओल्बा समूहमध्ये कतै ढल्किने हतारो गथ्र्यो भने त्यहाँभित्र पुरानो लिगेसीको खाँबो मक्किएको अनि सत्ता र शक्तिका लागि जति बेला पनि हतारिने लोभीपापीहरूको हालीमुहाली रहेछ भन्ने प्रष्ट हुन्थ्यो । त्यस अवस्थामा पार्टी कति बदनाम हुन्थ्यो ? काङ्ग्रेसीहरूका मनमा त्यो चिसो पसेकै हुनुपर्छ भन्ने कन्टिर–बाबूको ठहर छ ।

त्यसो त हेर्दाहेर्दै दोस्रोबाट तेस्रो वरियतामा झरेको काङ्ग्रेसले यतिबेला हात मिलाओस् पनि कोसँग ? एकातिर कोरोनाको डर घटेको छैन, अर्कोतिर अनिश्चितताको अँध्यारो हटेको छैन । ओल्बा र झप्रमहरूको समूह अनौपचारिक रूपमा न फुटेको छ, न जुटेको छ ।

  • सरकारमा हुँदा आफ्नै पार्टीका मान्छेलाई काम गर्न दिएनन् भन्ने आरोप लाग्ने वा लगाउनेहरूले एक समय राजनीतिक वर्ग शत्रु नै घोषणा गरिएको काङ्ग्रेसका मान्छेलाई चाहिँ सरासर काम गर्न दिन्छन् भन्ने के ग्यारेन्टी छ ?

फेरि कतै केही नपाएर अर्को पार्टीको नाम राखेर रमाइरहेकाहरूको पार्टीको आधिकारिकता नै रिराकहरूको पोल्टामा जानसक्ने गाइँगुइँ कन्टिर–बाबूले त सुनेका छन् भने काङ्ग्रेसीहरूले नसुनेका होलान् भन्न सकिन्न । यस्तोमा काङ्ग्रेस नेतृत्वको परिपक्वता प्रदर्शनमा अलमल परिस्थिति पनि कारक हुनसक्छ भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

जसको पार्टीगत नाम नै मौलिक छैन, त्यस्तो समूहसँग मुलुककै पहिलो मौलिक पार्टीले सहकार्य गरोस् त कुन आधारमा ? कन्टिर–बाबू चस्माको सिसा पुछ्दै सोचिरहेका छन्– अहिले उनीहरूबीच देखिएको गाली–गलौज, घोचपेच, तँछाड–मछाडको राजनीति पनि मौलिक नहुन सक्छ, नियोजित र नाटकीय हुन सक्छ । तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु भनेको पनि हुनसक्छ ।

कन्टिर–बाबूका अनुसार नेपालमा कमनिस्ट आवरण धारण गरेका जोगीहरू त्यति भरपर्दा जोगी होइनन् । हेर्दाहेर्दै सबै मिलेर मठ उजाड्न पनि सक्छन्, हेर्दाहेर्दै हामी त आत्मआलोचित भयौँ नि भन्दै दुनियाँलाई जिल्याइदिन पनि सक्छन् ।

अहिले सत्ताको काफल रुखमै चढेर मिलीमिली खान प्रस्ताव गरिरहेकाहरू भोलिका दिनमा आत्म–आलोचनाका नाममा फ्याट्ट मिले भने सत्ताका लागि हतारिने काङ्ग्रेसको हालत के हुन्छ ? यस्तोमा काङ्ग्रेससँग न समाउने हाँगो हुनेछ न टेक्ने डाली ! त्यसैले काङ्ग्रेस अहिले जुन ठाउँमा छ, त्यहीँ ठिक छ भन्नेमा कन्टिर–बाबू स्पष्ट छन् ।

यदि सत्ता–चास्नीको लोभमा परेर यथास्थितिमा झप्रम वा ओल्बामध्ये कुनै एक पक्षसँग मिल्ने निर्णय भएमा भविष्यमा काङ्ग्रेस एक्लिने निश्चित नै छ । कन्टिर–बाबू प्रश्न गर्छन्– सरकारमा हुँदा आफ्नै पार्टीका मान्छेलाई काम गर्न दिएनन् भन्ने आरोप लाग्ने वा लगाउनेहरूले एक समय राजनीतिक वर्ग शत्रु नै घोषणा गरिएको काङ्ग्रेसका मान्छेलाई चाहिँ सरासर काम गर्न दिन्छन् भन्ने के ग्यारेन्टी छ ?

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया