Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता : ठूला पोस्टर टाँस्न नपाइने, हेलिकप्टर चार्टर गर्न पाइने !

निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता : ठूला पोस्टर टाँस्न नपाइने, हेलिकप्टर चार्टर गर्न पाइने !

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता बनाउन थालेको छ । आइतवार आयोगमा आयोजित आचारसंहिता सम्बन्धी छलफलमा चुनाव प्रचारमा हेलिकप्टर चार्टर गर्न पाइने प्रस्ताव गरिएको छ ।

छलफलमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सञ्चारकर्मीसँग भने, ‘आयोगले प्रस्तुत गरेको प्रस्तावमा प्रचार सामग्रीलाई नियन्त्रित गरेको छ, खर्च व्यवस्थापन नियन्त्रण गरेको छ । तर पनि हेलिकप्टर चार्टर गरेर प्रचारमा जान सकिने व्यवस्था गरेको छ ।’

निर्वाचन आयोगले यसपालि विस्तृतमा आचारसंहिता बनाउन खोजेको पोखरेलले बताए । ‘विगतको निर्वाचनभन्दा अलि डिटेलमा, पटक–पटक फेरिरहनु नपरोस् भनेर सबै किसिमका निर्वाचनलाई हुने गरी बनाउनुभएको छ,’ उनले भने, ‘आचारसंहिता उल्लंघन गरेमा १ लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्ने व्यवस्था छ ।’

प्रस्तावित आचारसंहितामा निश्चित आकारभन्दा ठूला पोस्टर र पम्पलेट टाँस्न नपाइने व्यवस्था समेत गरिएको छ । दलहरूसँगको छलफलपछि आयोगले आचारसंहितालाई अन्तिम रूप दिनेछ ।

पोखरेलले नेकपा विवाद हल नगरी निर्वाचनको प्रक्रियामा अघि बढ्न नमिल्ने मत छलफलमा राखेका छन् । ‘६४ प्रतिशत मत रहेको दलको विवाद हल नगरी निर्वाचन आयोग अगाडि बढ्न सक्दैन,’ बैठकमा दलहरूका तर्फबाट शुरूमै आफूले राखेको धारणाबारे जानकारी दिँदै पोखरेलले भने ।

आफूहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसारको दाबी सहितको पत्र निर्वाचन आयोगमा बुझाए पनि अहिलेसम्म आधिकारिकतासम्बन्धी कुनै निर्णय नआएको उनले बताए ।

आधिकारिकता दाबीका लागि ३० दिनको म्याद गुज्रिसकेको भनेर गरिएको दाबीका सम्बन्धमा पोखरेलले नेकपाको वास्तविक विवाद माघ १२ गते निर्वाचन आयोगले पत्र दिएपछिबाटै शुरू भएको जिकिर गरे ।

त्यसअघि बसेका केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिवले बोलाएकै बैठकको निरन्तरता भएको बताउँदै पोखरेलले ४४१ केन्द्रीय सदस्यलाई मान्यता दिन्छौं भन्ने आयोगको निर्णय आएपछि एकताताकाको त्यही केन्द्रीय समितिको बहुमतका आधारमा आफूहरूले आधिकारिकता दाबी गरेको बताए । पार्टीको तर्फबाट शुरूमै धारणा राखेर पोखरेल बाहिरिएका छन् ।

प्रतिक्रिया