Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

प्रश्न एक उत्तर अनेक - भ्यालेन्टाइन्स डेका सकारात्मक तथा नकारात्मक पक्ष के–के देख्नु हुन्छ ?

प्रश्न एक उत्तर अनेक - भ्यालेन्टाइन्स डेका सकारात्मक तथा नकारात्मक पक्ष के–के देख्नु हुन्छ ?

भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस । हरेक वर्ष १४ फेब्रअरीका दिन यो पर्व विश्वभरी नै मनाइन्छ ।

यो वर्षको भ्यालेन्टाइन्स डे यही आईतबार (फागुन २ गते) मनाइँदैछ ।

सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने यो पर्व नेपालमा पछि उल्लासमय शैलीमा मनाउन थालिएको एक दशक बढी नै भैसकेको छ ।

आईतबार काठमाडौं लगायत देशैभरीका प्रमुख शहरहरुमा भ्यालेन्टाइन्स विशेष कार्यक्रमहरु आयोजना हुँदैछन् ।

खासगरी प्रेम प्रस्ताव राख्ने, प्रेम गरिरहेकाहरु तथा विवाहित जोडीले समेत यो पर्व उल्लासमय शैलीमा मनाइरहेको देखिन्छ ।

यही सेराफेरोमा रहेर कलाकर्मीले आफ्नो नियमित स्तम्भ प्रश्न एक उत्तर अनेकमा यस पटक भ्यालेन्टाइन्स डेमै आधारित जिज्ञासा राखेको छ ।

हाम्रो प्रश्न छ- ‘भ्यालेन्टान्स डेका सकारात्मक तथा नकारात्मक पक्ष के–के देख्नु हुन्छ ?’

हामीलाई प्राप्त केही व्यक्तित्वहरुका धारणाहरु जस्ताको तस्तै :

अविरल थापा, चलचित्र निर्माता/लेखक- यो दिनमा सबैले माया–प्रेमको कुरा गर्नु, प्रेम दिनु, बाँड्न खोज्नु सकारात्मक कुरा हो भने प्रेमको मोल–मोलाइ गरेर कारोबार गर्न खोज्नु नकारात्मक कुरा हो ।

दीपेन्द्र खनियाँ, रेडियोकर्मी - माया बाँड्ने र व्यक्त गर्ने नयाँ पर्व हो । समयले जन्माएको अर्को चलन हो । विवादभन्दा स्विकार्नु नै राम्रो ।

दुर्गा खरेल, गायिका - हुन त प्रेम गर्नलाई कुनै दिनको आवश्यकता पर्दैन, प्रेमी–प्रेमिकाबीच सुमधुर सम्बन्ध हुन जरुरी छ । सधैं माया गरिरहेका जोडीहरु भएता पनि अझै मायाको, प्रेमको लागि नै मनाउन् भनेर भ्यालेन्टान्स डे मनाइने हुँदा झन् यसले प्रेममा सम्बन्धमा बढी मिठास थपेको हुन्छ । एक–अर्काप्रति झन् समर्पित हुनलाई सहयोग गर्छ । यो यसको सकारत्मक पाटो हो । तर, यसलाई फेसनको रुपमा लिने र सम्बन्ध र प्रेमलाई नबुझ्ने तर कुलतमा डुबेर मनाउने प्रचलन बढ्दै जाँदा चाहिँ समाज र स्वयं व्यक्तिमा नकारात्मक असर परिरहेको छ ।

डेविड शंकर, गायक - भ्यालेन्टाइन्स डे माया गर्नेहरुका लागि विशेष दिन हो, यही नै यसको सकारात्मक पक्ष हो । माया नगर्नेहरुका लागि यो केही न केही । यही नै यसको नकारात्मक पक्ष हो ।

रोशनी केसी, चलचित्रकर्मी - प्रेम र अनुकम्पा आदान–प्रदान गर्न कुनै नोक्सान छैन, तर यो हाम्रो संस्कृति होइन । आफ्नो संस्कृति विनास गरेर अर्काको देखासिखि गर्न मिल्दैन । जबसम्म आफ्नो संस्कृतिलाई अनुशरण गर्दैनौं, तबसम्म हाम्रो प्रगति हुँदैन । ३ सय ६५ दिन नै प्रेम गर्न सिक्नु पर्छ । आफ्नो संस्कार र संस्कतिलाई नबिर्सी अरुको राम्रो संस्कृतिलाइ पनि अपनाउने हो ।

अयुब केसी, अभिनेता - यो एउटा फेसन जस्तो चाहिँ पक्का हो, हाम्रो संस्कृति होइन । माया गर्नलाई र मायाको दिवस राख्नलाई एउटा जोडीका लागि हरेक दिन विशेष हुन्छ । यसरी सोच्ने हो भने हरेक दिन भ्यालेन्टाइन्स डे हो, त्यसैले यसका सकारात्मक कुराहरु थोरै नै छन् ।

निकेश खड्का, निर्देशक - नकारात्कम त अहिले किशोर अवस्थादेखि नै प्रेम अनि त्यसको नाममा भावनासंग खेल्ने काम हुन्छ । जहाँ प्रेमको भावलाई यसको गहिराईमा भन्दा समर्पण र शारीरिक आकर्षणमा साटिन्छ । सकारात्मक चाहिँ प्रेम गर्ने पुस्तामाझ खुलेर आफ्नो प्रेम प्रस्ताव गर्न पाउने स्वतन्त्रता र पार्टनरबीच समय बिताउने पाउने अवसर यसले जुराउँछ ।

सृजना खत्री, गायिका - हुन त भ्यालेन्टाइन्स डे आयातित पर्व हो । पश्चिमा संस्कृतिबाट नेपालमा भित्रिएको एउटा पर्व हो । समग्रमा यो मनाउनु राम्रै पनि हो । यसको आफ्नै इतिहास र महत्व पनि छ । प्रेम गर्ने जोडीहरुको महान् पर्व पनि हो । मायालु जोडीका लागि यो पर्वले विशेष अर्थ राख्छ । यद्यपि, देखासिखी गरेर मनाइने पक्षलाई चाहिँ म नकारात्मक नै मान्छु । यसले समाजलाई के सन्देश दिन्छ त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । त्यसै पनि हाम्रो समाजमा नकारात्मकता हावी हुँदैछ, त्यसैले यो पर्व पनि विकृतितिर जाने हो कि भन्ने डर छ । तर राम्रा तरिकाले मनाइयो भने यो पर्वले खासै हानी गर्दैन जस्तो लाग्छ ।

प्रतिक्रिया