Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

लमजुङ दोर्दीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

लमजुङ दोर्दीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

बिहीबार साँझ लमजुङको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । 

दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको जीप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जीप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् । 

धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन् । विद्यार्थी स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए ।

घाइतेको सदरमुकाम बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहको छ । घटनास्थलमा नौथर प्रहरी चौकी श्रीमञ्ज्याङका असई अजय गुप्तासहितको प्रहरी टोली र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए । 

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको टोली घटनास्थल खटाइएको छ । 

प्रतिक्रिया