Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

प्रयोगात्मक अभ्यासमा परनिर्भर, धनगढीका नर्सिङ कलेजहरु मापदण्ड पुरा गरेनन्

प्रयोगात्मक अभ्यासमा परनिर्भर, धनगढीका नर्सिङ कलेजहरु मापदण्ड पुरा गरेनन्

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजले नर्सिङ अध्यापन गराउन थालेको ११ वर्ष भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट एक शैक्षिक सत्रमा ४० जनालाई नर्सिङ अध्यापन गराउने गरि अनुमति पाएको छ। अनुमति पाएको कलेजले एक सय शैयाको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने मापदण्ड रहेको हो। तर मापदण्ड पुरा गर्न सो कलेजले प्रयोगात्मक अभ्यासका लागि सेती प्रादेशिक अस्पताललाई छनोट गरेको छ। तर कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भने अस्पताल खोल्ने समय अझै बाँकी रहेको बताएका छन्। 

धनगढीमै सञ्चालनमा रहेको फारवेष्ट टेक्नीकल कलेजले पनि नर्सिङ विषय अध्यापन गराउदै आएको छ। सो कलेजले पनि सीटीईभीटीबाट ४० जनालाई पढाउने अनुमति पाएको छ। तर सो कलेजले पनि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुको साटो सेती प्रादेशिक अस्पतालमै प्रयोगात्मक अभ्यास गराउँदै आएको हो।

‘कलेज सञ्चालन गर्नका लागि आफ्नै अस्पताल भएपछि मात्रै आउनु भन्ने चिकित्सा ऐनले भनेको छ,’ फारवेष्ट टेक्नीकल कलेजका प्रवन्ध निर्देशक करुणाकर पाण्डेयले भने, ‘हामीले ५–१० वर्षको समय मागेका छौं।’

सीटीईभीटी परिषद् बोर्डले पनि पछिल्लो समयमा सञ्चालनमा आएका नर्सिङ कलेजहरुले २० जनालाइ पढाउन ५० र ४० जनालाई पढाउने स्वीकृति लिएका कलेजको हकमा एक सय शैयाको अस्पताल २ वर्षभित्र खोल्नु पर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया