‘देश पाल्ने'हरु बाकसमा, देश हाँक्नेहारु कुर्सिकै खिचातानिमा
एक हिसाबले अहिले देशै ‘प्रवास हिँडेको’ जस्तै छ । पछिल्लो समय कोभिडका कारण दैनिक परदेसिनेको संख्यामा कमी आए पनि हरेक दोस्रो–तेस्रो घरको कोही न कोही रोजगारीकै सिलसिलामा विदेश छन् । उत्कृष्ट अवसरको खोजीमा होइन, अधिकांश त परिवारको गुजारा र सन्तानको शिक्षा–दीक्षाकै लागि विदेशमा सुरक्षित–असुरक्षित सबैखाले काम गर्न बाध्य छन् ।
यिनले अनेकौं हन्डर खाएर परदेशबाट पैसा पठाएकैले जस्तोसुकै संकटमा पनि देश ठीकठाक नै चलिरहेको छ । तर, यी सबैले सधैं धन कमाएर पठाउँछन् भन्ने छैन, कति आफैं बाकस बनेर फर्किन्छन् । शनिबार मलेसियाबाट १८ नेपालीको शव र अर्का एकको अस्तु ल्याइएको घटना यही दुःखान्तको पछिल्लो दृष्टान्त हो । मलेसियाबाटै १६ शव ल्याउनै बाँकी छ । सन् २०२० मा मलेसियामा २ सय ७५ नेपालीको मृत्यु भएको तथ्यांक छ । धन कमाउन हिँडेको घरको सदस्य जब आफैं बाकस बनेर फर्कन्छ, तब त्यो परिवारको सर्वस्व गुम्छ । तैपनि, वैदेशिक रोजगारीको यो अँध्यारो पाटोबारे देशलाई भने दुःखेको महसुस हुँदैन ।
वैदेशिक रोजगारीमा गएकामध्ये बर्सेनि करिब हजार जना बाकस बनेर फर्कन्छन् । यीमध्ये कतिको मृत्युको कारणसमेत परिवारलाई थाहा हुँदैन । केहीअघि वा अघिल्लो दिनसम्म परिवारका सदस्यसित सम्पर्कमा रहेको व्यक्तिकै अचानक मृत्यु भइरहेको हुन्छ । कतिले आत्महत्या गरिएको भनिन्छ, परिवारले पत्याउन सकेको हुँदैन । कतिले घर आउने मिति नै तोकिसकेका हुन्छन्, परिवार आफ्नो मान्छेको पर्खाइमा हुन्छ, तर न धन आउँछ न ज्यान, उल्टो शव बुझ्न बाध्य हुन्छन् आफन्त । फेरि, शव नै ल्याउन पनि सहज छैन । अहिले शव ल्याइएकाको मृत्यु डिसेम्बर ५ देखि २८ भित्र भएको हो, जनवरीमा मृत्यु भएकाको शव आउनै बाँकी छ । कोरोना महामारीले मलेसियामा ‘लकडाउन’ भएकाले शव पठाउन कठिनाइ भएको जनाइएको छ । केहीको शव ल्याउन महिनौं लाग्ने गरेको छ । यसबाट आफ्नो मान्छे गुमाएको परिवार थप तनावमा परिरहेको हुन्छ ।
संविधानको धारा ५१ (झ) (५) ले वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्नुपर्ने विषयलाई राज्यको दायित्वका रूपमा लिएको छ । वैदेशिक रोजगारीमा हुने मृत्युलाई नै लिएर तीन वर्षअघि सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजालासले सरकारका नाममा परमादेश नै जारी गरेको थियो । सर्वोच्चले श्रम तथा रोजगार मन्त्रालयलाई ‘गन्तव्य मुलुकहरूसँग गरिने द्विपक्षीय र बहुपक्षीय श्रम सम्झौतामा कामदारको मृत्युको जोखिम घटाउने, विदेशमा रहँदा कामदारको प्राकृतिक र अचानक मृत्यु भएमा अनिवार्य रूपमा त्यस्ता शव परीक्षण गर्ने, मृत्युको कारणको जानकारी मृतक परिवारलाई दिने र मृत्यु भएको अवस्थामा शव पारवहनको सहज उपलब्धता र बिमा र क्षतिपूर्तिसम्बन्धी सर्त एवं परिबन्दहरूको सम्बन्धमा विस्तृत रूपमा खुलाउने’ व्यवस्था गर्न भनेको थियो ।
यस्तै, सर्वोच्चले वैदेशिक रोजगार विभागलाई ‘वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुपूर्व गरिने स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाई नियमित अभिलेखीकरण गर्न, विदेशमा मृत्यु भएकाको शव ल्याउने र परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अत्यन्त सरल र सहज बनाउन र मृतकका परिवारको मान, मर्यादा र प्रतिष्ठामा आँच नआउने गरी विदेशबाट ल्याएका शवका लागि पारवहन र मृतकका परिवार बस्ने शव प्रतीक्षालयको भौतिक संरचना अन्तर्राष्ट्रिय विमानस्थल वा अन्य उपयुक्त ठाउँमा तत्कालै व्यवस्था गर्न’ आदेश दिएको थियो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई पनि ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम र सोसँग सम्बन्धित मापदण्डहरू थप परिमार्जित एवं परिस्कृत गर्दै कामदारहरूको जीवन सीमाको सम्भावित जोखिम पक्षहरू पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्यसम्बन्धी आधारभूत विषयलाई अभिमुखीकरण तालिमको एउटा महत्त्वपूर्ण पाटोका रूपमा स्वीकार गरी नवीनतम एवं अन्तर्राष्ट्रिय मापदण्डबमोजिम अभिमुखीकरण तालिमको मापदण्डको विकास गर्न’ भनेको थियो । तर तीन वर्ष बितिसक्दा पनि सर्वोच्चको यो आदेशको पालना हुन सकेको छैन । न विदेशमा ज्यान गुमाउनेको संख्यामा कमी आउन सकेको छ, न शव ल्याउने प्रक्रियालगायतका मानवीय पक्षमा उल्लेखनीय सुधार नै गरिएको छ ।
धेरैजसो नेपालीको मृत्यु दीर्घरोग, आत्महत्या र सडक दुर्घटनाका कारण भइरहेको बताइन्छ । यदाकदा कुटपिटका घटनामा समेत नेपालीले ज्यान गुमाएका छन् । गरिखाने उमेरका कैयौं युवाले विदेशमै ज्यान गुमाउनुपर्ने कारणबारे सरकार चिन्तित हुनुपर्छ । नेपाल सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासले कामदारहरूको स्वास्थ्य र सुरक्षाको सवाललाई प्राथमिकता दिनुपर्छ । सायद मृत्युका घटना त स्वदेशमै पनि भैरहेको हुन्छ नि भनेर बेवास्ता गरिएको हुन सक्छ । तर, के भुल्नु हुँदैन भने वैदेशिक रोजगारीमा गएकाहरू युवा उमेरका हुन्छन् । स्वदेशमा स्वास्थ्य परीक्षण गराएर गएका उनीहरूले सम्बन्धित देश पुगेपछि पनि जँचाएका हुन्छन् ।
कम्पनीले स्वस्थ मान्छेलाई नै काममा लगाएका हुन्छन् । तैपनि उनीहरूले अचानक ज्यान गुमाउनुपर्ने कारणलाई असामान्य रूपमा लिइनुपर्छ । वैदेशिक रोजगारीमा रहेकाहरूलाई शारीरिक एवं मानसिक स्वास्थ्य, संभाव्य दुर्घटना र मृत्युको जोखिमबारे उचित अभिमुखीकरण गरिनुपर्छ । कुन खाले समस्या भएका व्यक्तिलाई कस्तो अवस्थामा जोखिम हुन सक्छ भन्नेबारे यथोचित जानकारी गराउनुपर्छ । साथै, अहिले भैरहेका आत्महत्याको कारण पनि पहिल्याउनुपर्छ । यसमा कार्यस्थलको वातावरण दोषी छ कि परिवारिक तनाव भनेर पत्ता लगाई आवश्यक कदम चाल्नुपर्छ । आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूतिका लागि सम्बन्धित सरकारहरूसित कूटनीतिक पहल गर्नुपर्छ । देश पाल्नेका सवालहरूलाई देश हाँक्नेहरूले गम्भीर रूपमा लिनैपर्छ । सर्वोच्चकै आदेश पालना गरेमा मात्रै पनि वर्तमान अवस्थामा धेरै सुधार आउन सक्छ, यो पक्षमा ध्यान दिनुपर्छ ।
आजको कान्तिपुर दैनिकमा सम्पादकीय छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया