Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

कैलारीका ढाई सय घरपरिवार विस्थापित

कैलारीका ढाई सय घरपरिवार विस्थापित

कैलालीको कैलारी गाउँपालिकाका झण्डै ढाई सय घरमा पानि पसेको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारीका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानि पसेको हो ।

कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका वस्तीमा पानि पसि दुई सय ५० घरपरिवार विस्थापित भएका छन् । डुवान भएका वस्तीका घरधुरी अहिले विद्यालयमा बसीरहेको उनको भनाई छ ।

पछिल्लो २४ घण्टामा धनगढी एयरपोर्टमा शून्य दशमलब २ मिलिलिटर वर्षा भएको छ भने टीकापुरमा एक सय सात मिलिलिटर वर्षा भएको छ । कैलालीको कार्णाली नदीको वहाव बढ्दै गएको छ भने अन्य सहायक नदी तथा मोहना नदीको बहाव स्थिर रहेको छ । कर्णाली नदीको बहाव अहिले सात दशमलब ८६ मिटर पुगेको छ । सो नदीको बहाव १० मिटर पुगेमा सर्तकता तह र १० दशमलब आठ मिटर पुगेमा खतरा तह पार मानिने छ । विहान आठ बजेसम्म बर्दिया, सुर्खेत, रौतहट, मकवानपुर, ललितपुर लगायतमा भारी वर्षाका साथै नदी सतह बढेर खतरा तह पार गरेको छ ।

कैलालीका सहायक नदी स्थिर भएपनि मंगलबार पनि कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । 
नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

‘हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया