Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक, को–को बन्दैछन् ?

मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक, को–को बन्दैछन् ?

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका उहाँले तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुंग्याउन बैठक बोलाउनुभएको हो ।

 

बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।

 

स्रोतका अनुसार कांग्रेसले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ । उहाँको नाममा पार्टीभित्र करिब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताउनुभयो । शाहले बुधबार(आज) नै प्रदेश सरकारलाई पूर्णता दिने तयारी समेत गर्नुभएको छ ।

 

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई पठाउने निर्णय गरिसकेको छ । आज बसेको संसदीय दलको बैठकले समेत पुरानै निर्णयलाई अनुमोदन गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो ।

 

चौधरीले आज साँझ ७ बजे मन्त्रीहरूको शपथ हुने बताएपनि मुख्यमन्त्रीको सचिवालयले भने कांग्रेस संसदीय दलको बैठकपछि सरकार विस्तारबारे थाहा हुने जनाएको छ । मुख्यमन्त्रीले खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरे सुदूरपश्चिम सरकारले पूर्णता पाउनेछ ।

 

एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि गत २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

 

शाहले २७ माघमा कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्री नियुक्त गर्नुभएको थियो ।

 

त्यसपछि ६ जेठमा माओवादीका झपटबहादुर साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र माओवादीकी गीतादेवी माललाई उद्योग राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।

 

त्यतिबेला भागबण्डा नमिलेपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको थिएन । मंगलबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख, एक मन्त्री र एक राज्यमन्त्री दिने सहमति गरेको थियो । उक्त सहमतिपछि नाउपा सुदूरपश्चिम सरकारमा सहभागी हुन लागेको हो ।

प्रतिक्रिया