Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । दुवैतर्फ बन्ने पोखरीको गाइड बन्ड निर्माणाधीन अवस्थामा छ । अहिले गाइड बन्ड भरानको काम सकिएर नदीतर्फको भागमा प्लम कंक्रिट (डुंगा र कंक्रिट मिसाएर बनाइने ब्लक) राख्ने काम भइरहेको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेले बताए ।

‘अहिले बर्खाका कारण काम बन्द भएको छ, साउन १५ पछि सुरु हुन्छ,’ पाण्डेयले भने, ‘दुवैतर्फको पोखरीको गाइड बन्ड भरानको काम सकिएको छ, प्लम कंक्रिट राख्न मात्रै बाँकी छ ।’ प्लम कंक्रिट पनि आधा भागसम्म राखिसकिएको उनको भनाइ छ ।

पुलको दुवैतर्फ निर्माण हुने २६/२६ सय मिटर लम्बाइका पोखरीका लागि गाइड बन्ड (बाँध) निर्माण गर्नुपरेको हो । बाँधमा पोखरीतर्फ ग्राभेल मात्रै रहने र नदीतर्फको भागमा कटान रोक्न प्लम कंक्रिट राख्ने काम भइरहेको इन्जिनियर पाण्डेयले बताए । यसअघि उक्त भागमा २५० किलोभन्दा बढी तौलका ढुंगाको गाइड बन्ड बनाउने डिजाइन गरिएको थियो । ठूलो ढुंगा नभेटिएर काम प्रभावित भएपछि डिजाइन परिवर्तन गरिएको हो ।

अहिले ग्राभेलको बाँध बनाएर नदीतर्फ प्लम कंक्रिट राखिएको संरचनाले महाकालीको बहाव धान्न सक्छ वा सक्दैन भन्ने विषयमा पनि स्थानीयमा चासो बढेको छ । दुई वर्षअघि महाकालीमा भीषण बाढी आउँदा पुलको पहुँचमार्ग भत्काएको थियो । त्यतिबेला महाकालीमा पानीको बहाव सय वर्षयताकै बढी ५ लाख ४७ हजार क्युसेक पुगेको थियो । नदी बस्ती पसेको थियो । त्यतिबेला गाइड बन्ड निर्माण भएको थिएन । प्लम कंक्रिटसहितको बाँधले ५ लाख ८५ हजार क्युसेकसम्मको बहाव धान्न सक्ने निर्माण कम्पनीका इन्जिनियर पाण्डेय बताउँछन् । नदी पनि अहिले पूर्वबाट पश्चिमतर्फ सरिरहेको छ । ‘नदी पुलको बीचभागमा पुगे दुवैतर्फ सुरक्षित हुन्छ, यो बाँध पनि कमजोर छैन,’ उनले भने, ‘दुई वर्षअघि जस्तै बाढी आए पनि थेग्न सक्छ ।’ २६ सय मिटर लम्बाइको बाँधको उचाइ ७ मिटर छ । गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्मको पुलसहितको ८ किलोमिटर पहुँचमार्गमध्ये अब १७ सय मिटरमा मात्रै कालोपत्रको काम गर्न बाँकी छ । गाइड बन्डसँगै पोखरीभित्रका अन्य संरचना निर्माणको काम सकिएपछि कालोपत्र थालिने निर्माण कम्पनीले जनाएको छ । पुलको दुवैतर्फको भागमा कालोपत्र गर्न बाँकी छ । महेन्द्रनगरतर्फको भाग दुई वर्षअघि महाकालीको बाढीले बगाएको थियो । पुनः भरान गरेर कालोपत्रका लागि तयार पारिएको छ । तीन वर्षअघिदेखि नै पुलमा आवागमन चलिरहेको छ । पुलमै निर्माणको काम चलिरहेका बेला केही अवरोध हुने भएपछि अन्य समयमा भने दोधारा चाँदनीवासीका लागि पुलले निकै राहत पुर्‍याएको छ । महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ ।

चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पनि हेरिएको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको डीपीआर निर्माणको अन्तिम चरणमा छ ।

सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै आर्थिक विकासमा ठूलो फाइदा पुग्ने राजनीतिक दलका नेता र व्यवसायीले बताउँदै आएका छन् । अहिले वीरगन्ज र भैरहवा हॅुँदै नेपाल भित्रिएर आइरहेको मालसामान तथा कच्चापदार्थ दोधारा चाँदनीबाट भित्रिँदा दूरी आधा घटेर ढुवानी भाडासमेत कम हुने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया