Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

ठेक्का प्रक्रियामै अल्झियो बुढीगंगा जलविद्युतः चाैथो पटक ठेक्का आव्हान

ठेक्का प्रक्रियामै अल्झियो बुढीगंगा जलविद्युतः चाैथो पटक ठेक्का आव्हान

शिवराज ढुंगाना, अछाम । बहुप्रतिक्षित २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजना ठेक्का प्रक्रियामा अल्झिएको छ । समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा आयोजना निर्माणले गति लिन सकेको छैन । निर्माणमा मुख्य मानिएका ड्याम, टनेल र पावर हाउस पूर्व निर्माणका काम सकिएपनि समयमै ठेक्काको टुंगो नलाग्दा आयोजना पछि धकेलिँदै गएको छ ।

तीन पटकसम्म ठेक्का प्रक्रिया रद्ध हुँदा आयोजनाको निर्माणको कार्य अघि बढ्न नसकेको पाइएको छ । आयोजनाका मुख्य भाग ड्याम, टनेल र पावर हाउस निर्माणका लागि अन्र्तराष्ट्रियस्तरको बोलपत्र आव्हान गरिएपनि तीनै पटक ठेक्का रद्ध भएको छन् । २०७८ भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एक कम्पनीको मात्र बोलपत्र परेकोले उक्त ठेक्का प्रक्रिया रद्ध गरिएको आयोजना कार्यालयका सूचना अधिकारी तथा इलेक्ट्रिक इन्जिनियर स्वतन्त्रकुमार कर्णले जानकारी दिनुभयो । त्यसको छ महिनापछि चैतमा गरिएको एकल चरण ठेक्का प्रक्रियामा आएका कम्पनीले ठेक्का रकम भन्दा बढी ठेक्का हालेपछि उक्त प्रक्रियापनि रोकिएको बताइएको छ । आयोजनाले २०७९ असोजमा पुनः अन्र्तराष्ट्रियस्तरकै बोलपत्र आब्हान गरेपनि त्यसमा कम्पनीहरुले तोकिएको रकम भन्दा बढी ठेक्का हालेकोले प्रक्रिया अघि नबढेको प्रक्रिया रद्ध भएको बताइन्छ । “तीन पटक बोलपत्र गरिएपनि खरिद ऐन अनुसार प्रभावग्राही नभएको रद्ध भएका हुन्, म यत्ति भन्न सक्छु ।” इन्जिनियर कर्णले भन्नुभयो ।

चौथो पटक बोलपत्र खोलिएकोले त्यसको प्रक्रिया पूरा भएपछि मात्र आयोजनास्थलका मुख्य निर्माणका काम हुने भएको छ । “आयोजनाको काम ढिलो हुने भनेर अहिले अबलम्बन गरिएको खरिद प्रक्रिया अहिलेसम्मकै दु्रत प्रक्रिया हो । त्यसै अनुसार हामी अघि बढ्छौं ।” कर्णले भन्नुभयो । ठेक्का प्रक्रियामा आयोजना अल्झेपछि काम निकै धिमा गतिमा गएको स्थानीयको अनुभव छ । “ठेक्का प्रक्रिया पटक पटक रद्ध भयो भन्ने आएको छ, यसले त आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।” साँफेबगरका अगुवा कृष्ण बुढाको भनाइ छ ।

१८ महिनामा सम्पन्न हुने डीपीआरले चार वर्ष समय लाएपछि आयोजना निर्माणको काम उसैपनि पछाडि धकेलिएको छ । ठेक्का प्रक्रियाले नै तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशंका रहेको छ । “आयोजनाको काम ढिलो भइररहेको छ, चाँडो सम्पन्न गर्नेगरी काम गर्नुपर्छ ।” साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले भन्नुभयो । निकै महत्वपूर्ण रुपमा हेरिएको आयोजनाको काममा तीव्र गतिमा हुनुपर्ने स्थानीयको माग छ । आयोजनाले अछाममा २५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको बताइएको छ । यस्तै आयोजनास्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन् ।

२०७७ सालमा आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने उल्लेख छ । आयोजनामा छ अर्ब लागत अनुमान गरिएको आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्नेगरी आयोजना शुरु गरिएको छ । साँफेबगर नगरपालिकाको बुढाबगरमा बाँध बनाएर ५.६ किलोमिटर सुरुङमार्गबाट ठाँटी बजारमा रहने विद्युत गृहमा पानी खसालिने छ । १०/१० मेगावाटका दुइटा टर्बाइन प्रयोग गरेर २० मेगावाट विद्युत् उत्पादन हुनेछ । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया