Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

फर्केर हेर्दा

फर्केर हेर्दा

फर्केर हेर्दामा यहाँहरुलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले प्रतिनिधि सभाका १ हजार ३७  तथा प्रदेश सभाका १ हजार ३ सय ९८ उम्मेदवारलाई कारवाही गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजश्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोगको कार्यालयमा पेश गर्नुपर्नेछ ।
००००
गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर निलम्बनमा परेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई नोकरीबाट हटाएको छ ।

गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै डीएसपी केसीलाई प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेका हुन् । डीएसपी केसीलाई नोकरीबाट हटाएको निर्णयको पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ ।
००००
डेङ्गीका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । 

उनका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो ।

कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गीका बिरामी रहेका छन् ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन् । 
कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताएका हुन्  । 
यसैबीच अर्का नेता शशांक कोइरालाले मंगलबार नै चियापानको आयोजना गरेका छन् ।
००००
जानकारहरूले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिएका छन् ।        

 राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा ‘राष्ट्रिय सुरक्षासम्बन्धी नीति, मापदण्ड, सुरक्षा निकायबीचको समन्वय, व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशा’ सम्बन्धी छलफलमा उनीहरूले यी दुवै संवेदनशील विषयमा उपयुक्त थलो र समयमा राष्ट्रिय सहमतिका आधारमा सम्बोधन गर्नु बुद्धिमानी हुने तर्क प्रस्तुत गरे ।   
००००
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलवारदेखि शुरू भएको छ ।     

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलवार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधवारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
००००
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
पार्टी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेखेर सहमतिअनुसार मन्त्रालयमा भागबन्डा नमिलेकोले सरकारमा सहभागी नहुने जानकारी गराएकी हुन् ।

यसअघि नाउपाले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गर्णय गरेको थियो । नाउपा प्रदेश संसदीय दलको बैठकले गरेको निर्णयबाट नाउपा पछि हटेको छ ।
००००
होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
००००
करिब एक क्विन्टल सुन तस्करी काण्डपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका हाकिम फेरिएका छन् ।
अर्थ मन्त्रालयले भन्सार कार्यालय प्रमुखमा राष्ट्रिय किताबखानाको महानिर्देशक टोकराज पाण्डेलाई पठाएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ । यसैबीच चिनियाँ टोली मंगलबार नै स्वदेश फर्किएको छ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आइएफएडी)का प्रमुख डा अल्भारो लारियोबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना भएको युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन इटलीको रोममा रहेका प्रधानमन्त्री प्रचण्ड र डा अल्भारो लारियोबीच इटलीको रोममा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीसँगै भ्रमणमा रहेका कृषिमन्त्री वेदुराम भुसाल पनि सहभागी थिए ।
००००
नेपाल स्टक एक्सचेन्ज परिसूचक ३६ दशमलव १९ अङ्कले घटेको छ । दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा पुगेको नेप्सेमा आज दुई सय ६७ वटा कम्पनीको ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया