Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सुदूरपश्चिममा १६५ मेगावाट विद्युत उत्पादन

सुदूरपश्चिममा १६५ मेगावाट विद्युत उत्पादन

सुदूर पश्चिममा १६५ मेगावाट विद्युत उत्पादन भएको छ । राष्ट्रिय प्रसारण लाईनमा हालसम्म १५० मेगावाट जोडिएको छ । एक साताभित्र थप ५० मेगावाट विद्युत जोडिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका अनुसार चमेलिया जल विद्युत आयोजनाको ३० मेगावाट, माथिल्लो अपी जलविद्युत आयोजनाको आठ र तल्लो अपि जलविद्युत आयोजनाको आठ, मकरी गाड जलविद्युत आयोजनाको १० र कालंगा बेसिन अन्तर्गत निर्माण भएका अपर कालंगा जल विद्युत आयोजनाको ३८.४६ मेगावाट र तल्लो कालंगा जल विद्युत आयोजनाको १५.३३ मेगावाट समेत गरी ११० मेगावाट विद्युत १३२ केभी प्रसारण लाईनमा यसअघि नै जोडिएको थियो ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका प्रमुख ईञ्जिनियर रेवत कुमार चौधरीले यो साता कालंगा बेसिन अन्तर्गत निर्मित सानिगाड जलविद्युत आयोजनाको १०.७ मेगावाट र अपर चमेलिया जलविद्युत आयोजनाको ४० मेगावाट विद्युत १३२ केभी प्रसारण लाईनमा जोडिने जानकारी दिए । उनले भने, थप दुई वटा आयोजनाको विद्युत यसै साता जोडिदैछ । त्यो सहित १३२ केभी प्रसारण लाईनमा सुदूर पश्चिमबाट १६० मेगावाट विद्युत जोडिनेछ ।

सुदूर पश्चिममा निजी क्षेत्रको कालंगा हाईड्रो लिमिटेडले एउटै बेसनमा ६४.४९ मेगावाट विद्युत उत्पादन गरेको छ । निजी क्षेत्रको एउटै कम्पनीले उत्पादन गरेको यही नै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । कालंगा बेसिनमा तीन वटा आयोजना निर्माणमा लागि कालंगा हाइड्रो लिमिटेडले ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका प्रमुख चौधरीले सुदूरपश्चिममा हाल ७५ मेगावाटको खपत हुने गरेको बताए । जवकी यसअघि नै ११० मेगावाट उत्पादन भईसकेको थियो । चौधरीका अनुसार भारतसंगको सम्झौता अनुसार टनकपुरबाट १० मेगावाटको हाराहारीमा विद्युत आउने गरेको थियो । विद्युतमा हामी पहिले नै आत्मनिर्भर भईसकेका थियौ, चौधरीले भने, अहिले सुदूरपश्चिमा मागभन्दा दोब्बर मेगावाट विद्युत उत्पादन भईरहेको छ ।

उनले ठूला जलविद्युत आयोजना मात्र १३२ केभी प्रसारण लाईनमा जोडिने भएकोले साना जलविद्युत आयोजना भने गणना नगरिएको बताए । उनले आठ मेगावाट भन्दा साना आयोजना १३२ केभी प्रसारण लाईनमा नजोडिएको बताए ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका प्रमुख चौधरीका अनुसार आठ मेगावाट भन्दा साना थुप्रै आयोजनाहरु निर्माण सम्पन्न भईसकेको र कतिपय निर्माणको अन्तिम चरणमा छन् ।

सुदूर पश्चिममा साना जलविद्युत आयोजनाहरुमा डोटीको बीपीनगरमा ३.५ मेगावाट, बझाङमा एक मेगावाटको एउटा आयोजना सञ्चालनमा आईसकेका छन् । डोटीमा १.५ मेगावाटको एउटा आयोजना निर्माणको अन्तिम चरणमा छ ।

सुदूरपश्चिममा १६० भन्दा बढि मेगावाटका आयोजनाको निर्माण पुरा भएपनि हिँउदमा नदीको पानीको सतह घट्दा उत्पादन समेत घट्ने गरेको छ । विद्युत उत्पादन भने पानीको सतहमा निर्भर हुने गरेको छ, कतिपय आयोजनाको विद्युत उत्पादन ५० प्रतिशतभन्दा कम हुने गरेको छ, उनले भने, बर्षायाममा भने क्षमता अनुसार शतप्रतिशत विद्युत उत्पादन हुने गरेको छ । 

सुदूर पश्चिममा १८ हजार मेगावाट विद्युत उत्पादन हुन सक्ने

एक आँकडा अनुसार नेपालको विद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट छ । जसमध्ये सुदूरपश्चिममा मात्र १८ हजार १४९ मेगावाट विद्युत उत्पादन हुन सक्ने औल्याईएको छ । । विद्युत उत्पादन क्षमता मुलुकको सात वटै प्रदेशको तुलनामा सबैभन्दा बढि हो । मुलुक भरीको कुल उत्पादनको २२ प्रतिशत जलविद्युत उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा मात्रै छ । त्यसैले सुदूरपश्चिम प्रदेशलाई जलविद्युतको अथाह संभावना भएको प्रदेश मानिन्छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अनुसार सुदूर पश्चिममा ३६१४ मेगावाट क्षमताको २० वटा जलविद्युत आयोजना अध्ययनको चरणमा रहेको छ । १०६ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना पनि अध्ययनको चरणमा रहेको जनाइएको छ । १२ वटा योजना नेपाल सरकारको बास्केटमा रहेका छन् । जसको क्षमता ९४ मेगावाट रहेको छ ।

१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी, छ हजार ८०० मेगावाटको पञ्चेश्वर, ७५० मेगावाटको पश्चिम सेती लगायतका ठूलो जलविद्युत आयोजना सुदूरपश्चिममा रहेको बताइएको छ ।

सुदूरपश्चिममा विद्युत उत्पादनका लागि प्रति मेगावाट करिब २० करोड रुपैया खर्च हुने जनाइएको छ । क्षमता अनुसार विद्युत उत्पादनका लागि करिब ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ खर्चिनु पर्ने औंल्याइएको छ ।

जलविद्युतको सबैभन्दा बढि संभावना भएको सुदुरपश्चिममा हाल १६५ मेगावाट विद्युत उत्पादन भईरहेको छ । जवकी देशभरीमा ३००० मेगावाट विद्युत उत्पादन भईरहेको छ । सुदूरपश्चिमका ठूला आयोजनाहरु पञ्चेश्वर, पश्चिम सेती जस्ता परियोजनाहरुको निर्माणमा भईरहेको ढिलाईले सुदूरपश्चिममा विद्युत उत्पादन न्यून भएको हो ।

प्रतिक्रिया