Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सुन तस्करीको सेटिङ कहाँ कसरी ?

सुन तस्करीको सेटिङ कहाँ कसरी ?

पछिल्लो समय नेपालमा सुन तस्करी सांगठनीक अपराधको रुपमा मौलाइरहेको छ । तस्करहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको प्रयोग गरि विभिन्न देशहरुबाट ल्याइएको तस्करीको सुन भण्डारण गर्ने स्थल नै काठमाडौं जस्तो बन्दै गएको छ । यसरी बारम्बार भइरहेका तस्करीका घटना रोक्न सरकारी संयन्त्र किन सफल भइरहेको छैन ?

आखिर नेपालमा तस्करी मौलाउनुको प्रमुख कारण के हो ? कहाँ कसको संरक्षणमा यी सबै गतिविधि फस्टाइरहेका छन् ?

मंगलबार साँझ राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिर लैजान लागिएको अवस्थामा झन्डै सय किलो सुन बरामद गर्यो ।

उक्त सुन प्रकरणमा हाल सम्म १ चिनियाँ नागरिक सहित १० जना पक्राउ परिसकेका छन् । राजस्वको प्रारम्भिक अनुसन्धानमा हङकङबाट ल्याईएको उक्त तस्करीको सुनको अन्तिम गन्तव्य भने भारत भएको खुलेको छ ।

यद्यपी अवैध सुनको मुख्य मालिक को हो ? यति ठुलो परिमाणमा बरामद भएको सुनको बजार कुन हो ? यस बिषयमा भने राजस्व अनुसन्धान विभागले बिस्तृत अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय नेपालको त्रिभुवन अन्र्तराष्ट्रि विमानस्थल नेपालका लागि स्वर्णद्धार बन्दै गएको छ । पछिल्लो एक दशकमा नेपाल प्रहरीले बरामद गरेको सुनको तथ्याङकलाई केलाउँदा पनि उक्त कुरा पुष्टि हुन्छ ।

प्रहरीले उपलब्ध गराएको तथ्याङक अनुसार पछिल्लो ९ वर्षमा नेपालभित्रै झन्डै ८ सय १ किलो तस्करीको सुन बरामद भएको छ ।

यसरी नेपालमा पछिल्लो समय सुन तस्करी मौलाउने वातावरण सरकार आफैँले तयार पारेको नेपाल सुनचाँदी व्यवसायी महासंघको आरोप छ ।

नेपालको आवश्यक्ता अनुसार सुन आपुर्तिको व्यवस्था सरकारले मिलाउन नसक्दा सुन तस्करको जालो बलियो बन्दै गएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको बुझाइ छ ।

केही बर्ष अगाडीसम्म सुन तस्करका लागि स्थलमार्ग अति सुरक्षित मानिन्थ्यो । तस्करहरुले नेपाल र चीनको तातोपानी नाकाबाट सुन नेपाल भित्राउने गरेका थिए ।

२०७२ सालको भुकम्पले उक्त नाका बन्द भएपछि भने तस्करहरु हवाई मार्गको प्रयोग गरेर तस्करी गर्न थालेका छन् । अझ, पछिल्लो समय त तस्करहरुका लागि स्थल मार्ग भन्दा हवाई मार्ग बढी सुरक्षित बन्न पुगेको छ ।

यसरी विमानस्थल नै तस्करहरुको अखडा बन्दै गएको तथ्य गृहप्रशासनलाई थाहा नभएको होइन तर उनीहरुकै संलग्नतामा जेलिएको तस्करहरुको यो जालो तोड्न सहज छैन् ।

यद्यपी, गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करहरुको यो जालो तोडेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

राजनीतिक संरक्षणमा तस्करले विमानस्थलमा आफु अनुकुलका कर्मचारी सरुवा गर्ने र तस्करीको बाटो खुला गर्ने बिषय नौलो होइन । यस्तोमा आगामी दिनमा गृहमन्त्री श्रेष्ठले यो जालो तोड्न सक्लान ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया