Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो


अछामको साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो । 
नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिए।

जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा  पुरातात्त्विकमा वर्गीकरण गरिएको छ । नगर क्षेत्रमा रहेको ४७.५२ वर्गकिलोमिटर जग्गा विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको बताइएको छ । कित्ताकाट खुलेसँगै तोकिएको स्थानको जग्गाको भागबण्डा, किनबेच र बैङ्किङ कारोबारमा सहजता आएको स्थानीयको भनाइ छ । स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाटको काम हुने बताइएको मङ्गलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले पनि जग्गा वर्गीकरणको काम अघि बढाएको छ । 
 

प्रतिक्रिया