Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बैतडी दुर्घटना अपडेट : घाइतेमध्ये १६ जनाकाे उपचार चल्दै, ३ जनालाई भारत पठाइयाे

बैतडी दुर्घटना अपडेट : घाइतेमध्ये १६ जनाकाे उपचार चल्दै, ३ जनालाई भारत पठाइयाे

 

बैतडी – बैतडीको मेलौलीमा अस्ति सोमवार भएको बस दुर्घटनामा घाइते भएका ४५ मध्ये १६ जनाकाे अझै उपचार चलिरहेकाे छ । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० जनाको धनगढीमा रहेकाे माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

शिवनाथ–५ का गोरख सिंह साउद, सङ्गीता रावत, मिना चन्द, कञ्चनपुरकी दिपीका भट्ट, मेलौली–३ का बिसन भट्ट, शिवनाथ–३ का भरत सिंह साउद, पाटन–१ का चन्द्रदेव पन्त, पञ्चेश्वर–७ कि पार्वती भण्डारी र उहाँका छोरा कृष, मेलौली–४ का अमित चन्दको उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै डडेल्धुरा अस्पतालमा पञ्चेश्वर–३ का कृष्णा शाही, खडकबहादुर चन्द र सेतु चन्दको उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई घर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेकाे लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमवार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए । पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा सोमवार नै ज्यान गएकाे थियो ।

ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको थियो । घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया