Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

धनगढीका मुख्य र सहायक सडक जलमग्न

धनगढीका मुख्य र सहायक सडक जलमग्न

मोहन पनेरु / धनगढी । बुधबार सामान्य वर्षा हुँदा धनगढीका मुख्य तथा सहायक सडकहरु जलमग्न बनेका छन् । सामान्यतय धनगढीको एलएन चोक, मिलनचोक, बिशालनगर, शिवनगर, राजपुर, हसनपुर, कैलाली गाउँ, मालिका टोल, कृष्णनगर, सरस्वती टोल र पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती लगायत अन्य क्षेत्रहरुमा समान्य पानी पर्दा जलमग्न हुने गर्दछ । 

सामान्य वर्षा हुँदा समेत जलमग्नको समस्या व्यहोर्नु परेको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी हरिश चन्द्र शाहीले बताए । उनले भने ‘अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि झन निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।’

वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको र पानी निकासा नहुँदा तथा जमाना देखिका खोला, नालाहरु अतिक्रमण तथा कतिपये ढलको व्यवस्थापन नभई अक्सर डुबानमा पर्ने गरेको शाहीले बताए । डुबान बाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलहरुको उचित व्यवस्थापन हुन जरुरी रहेको शाहीको भनाइ छ । 

धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष राजबहादुर ऐरले सोही वडाको गुरुद्वारादेखि मिलनचोकसम्मको बेल्ट हरेक वर्ष बर्सातका समयमा जलमग्न हुने गरेको बताए । उनले वडामा आएको बजेटले समस्याको समाधान गर्न सम्भव नभएकाले प्रत्येक वर्ष निरन्तर रुपमा प्रदेश, स्थानीय र सङ्घीय सरकारलाई वडाको ढल निकासका लागि योजना बनाई पठाएको तर त्यो कार्यान्वयन हुन नसकेको बताए । तर यस बर्षको बजेटमा भने थेरै भए पनि बजेट आएको तर यस आर्थिक बर्षमा काम गर्न नसकिने अध्यक्ष ऐरले बताए । उक्त बजेटको काम अगामी साउन भदौ तिर मात्रै हुने बताए । 

निरन्तर वर्षा भए पछि बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडक समेत जलमग्न हुने गर्दछन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या हुने गर्दछ ।

गत बर्षको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए ।

उपमहानगरपालिकाका नगर प्रहरीहरुलाई बाढी डुवानमा खोज उद्दार तालिम दिएको विपत व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले बताए  । 

उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई  उद्दार गर्न २५ जना नगर प्रहरीलाई परिचालन गर्न खोज उद्दार प्रशिक्षण दिएको भण्डारीले बताए ।

प्राकृतिक विपत जुनसुकै बेला आइपर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन विपत कार्ययोजना बनाई सोही अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । ‘अब नगर प्रहरीलाई पनि बाढी र डुवानमा परेकाहरुको उद्दारका लागि तयारी अवस्थामा राखिने छ’ उनले भने ‘नगरमा रहेका सबै २५ जना नगरप्रहरीलाई हामीले तालिम दिएका छौ ।’
 

प्रतिक्रिया