Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

स्वतन्त्र सांसद जोशीको प्रश्न- सेती प्रादेशिक अस्पताल कि माफिया अस्पताल ?

स्वतन्त्र सांसद जोशीको प्रश्न- सेती प्रादेशिक अस्पताल कि माफिया अस्पताल ?

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल जारी छ । छलफलका क्रममा स्वतन्त्र सांसद डा. तारा जोशीले सेती प्रादेशिक अस्पताललाई माफिया अस्पतालको संज्ञा दिएका छन् ।

विभिन्न जिल्लाबाट आएका बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै उनले त्यसलाई माफिया अस्पतालको संज्ञा दिएका हुन् ।

उनले पटक पटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे ।

प्रदेश सांसद जोशीले पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाग्रह मन्त्रालय भन्दै व्यङ्ग्यसमेत गरेका थिए । उनले बजेट सैद्धान्तिक रूपमै गलत रहेको बताए ।

सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको तस्बिर भाइरल हुने सम्भावना धेरै छ । त्यसैले चिडियाखाना बनाओस् सरकारले ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जनता अझै पनि खानेपानीको अभावले पिल्सिरहँदा पनि सरकारले त्योअनुसारको बजेट ल्याउन नसकेको जोशीको गुनासो थियो ।

प्रतिक्रिया