Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

जुम्ला : अन्तरजातीय विवाहपछि घर जलाइएकाे भन्दै मुद्दा दर्ता

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोलामा अन्तरजातीय विवाहपछि घर जलाइएको भन्दै मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मराज जोशीका अनुसार तातोपानी–४ निवासी भरत नेपालीको घर जलाउने व्यक्तिविरुद्ध मुद्दा दर्ता भएकाे हाे । तातोपानी–४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको इन्स्पेक्टर जाेशीले बताउनुभयाे ।

प्रहरीका अनुसार घरधनी नेपालीका भाइ मुकेन्द्र नेपाली र त्यही गाउँकै गिरी जातकी केटीबीच विवाह भएका कारण केटी पक्षका आफन्तबाट घर जलाइएको हुन सक्ने आशङ्कामा किटानी जाहेरी परेको हो ।

यस घटनामा केटीका बुबाले पनि छोरी हराएको भन्दै गएकाे असार १३ गते निवेदन दिएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केटीका बुबाले दिएको निवेदनमा मुकेन्द्र नेपालीसँग विवाह गरेकी केटी १६ वर्षकी उल्लेख भए पनि १४ वर्ष सात महिनाकी भएकाे जनाइएकाे छ । केटीको विद्यालयको प्रमाणपत्रमा १४ वर्ष सात महिना उमेर खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार आइतवार बिहान ३ बजेतिर आगलागी भएर भरत नेपालीको घर जलेको थियो । आगलागीबाट टिनले छाएको माटो र ढुङ्गाले छाएको घरकाे भित्री भाग पूरै जलेकाे प्रहरीले जनाएकाे छ ।

घर जलाइएको विषयमा जातीय विभेद भएको भन्दै सरोकारवाला निकायले ध्यानाकर्षण गराएका छन् । दलित सेवा सङ्घ जुम्ला, दलित मुक्ति मोर्चाले अन्तरजातीय विवाह भएका कारण घर जलाउने विषय गम्भीर भएको भन्दै कानुनी कारबाही गर्न स्थानीय प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया