Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

सुर्खेतमा के भएको हो ? किन झमेलामा परिरहन्छन् ज्ञानेन्द्र शाही ?

सुर्खेतमा के भएको हो ? किन झमेलामा परिरहन्छन् ज्ञानेन्द्र शाही ?

ज्ञानेन्द्र शाही नाम चलेको दलका चर्चित नेता होइनन् । सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् ।

तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण भयो । यसअघि २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो ।

आखिर किन पर्छन् उनी निशानामा ? शाहीको जिकिर छ, ‘मेरो लोकप्रियताबाट डराएर सत्ता पक्षका व्यक्तिहरुले नै ममाथि पटक–पटक आक्रमण गर्छन् ।’

सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न भन्दै शुक्रबार सुर्खेत पुगेका थिए । त्यही क्रममा आफू र आफ्ना सहयोगीहरुमाथि शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको शाहीको भनाइ छ । यो आक्रमणबाट उनका एक सहयोगीको टाउको फुटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।

शाही सवार गाडीभन्दा अगाडि दुई जना युवक मोटरसाइकलमा थिए । सुरुमा उनीहरुलाई बाटो छेकेर आक्रमण गरिएको र आफू पुगेपछि घेरा हालेर आक्रमण गरिएको शाहीको भनाइ छ । ‘हाम्रै टोलीका एक जना साथीको घरमा खाना खाएर बजार फर्किने क्रममा बाटो छेकेर हाम्रो हत्या गर्ने योजनाअनुसार आक्रमण भयो,’ शाही भन्छन्, ‘आक्रमणकारीले आफ्नो मोबाइलमा फोटो हेर्दै आक्रमण गरेका थिए । शायद हाम्रो फोटो उनीहरुलाई पठाइएको थियो ।’

सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्ट भने शाहीको समूहमाथि आक्रमण भएको नभई दुई पक्षबीच झडप भएको बताउँछन् । झडपमा संलग्न भएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिएको भन्दै भट्टले भने, ‘दुई पक्षबीच झडप भएको थियो । प्रहरी टोलीले उहाँहरु (ज्ञानेन्द्र शाही समेत) लाई उद्धार गर्‍यो ।’

स्थानीय के भन्छन् ?

शुक्रबार ज्ञानेन्द्र शाहीसहितको समूहमाथि आक्रमण भएको घटनाको सन्दर्भमा स्थानीयसँग कुरा गरेको एक भिडियो वाईसीएल सुर्खेतका नेता पदम बनले फेसबुकमा पोष्ट गरेका छन् । त्यो भिडियोमा महिलाहरुले खर्कबहादुर बुढाको घरमा शाहीको समूहले भाले काटेर रक्सी सेवन गरेर फर्किएको बताएका छन् । अगाडि–अगाडि बाइकमा रहेकाहरुले स्थानीय नवराज गिरीलाई कुटपिट गरेपछि स्थानीयले प्रतिकार गरेको ती महिलाहरुको भनाइ छ ।

शाहीलाई आक्रमण गरेको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका स्थानीय पंखबहादुर सलामीकी श्रीमती भन्छिन्, ‘माथिबाट उहाँहरु हल्ला गर्दै आउनु भएको थियो । बाइक दायाँबायाँ गरेर (हातको इशाराले देखाउँदै) चलाउनुभाथ्यो । नवराज गिरीले दाइ के गरी बाइक चलाउनुभाको भन्दा तपाईंहरुको को हो ? हामी ज्ञानेन्द्र शाहीको मान्छे । हामी ठूलो मान्छे, ठूलो पदको हो भन्नुभयो ।’

ती महिला अगाडि भन्छिन्, ‘त्यही भन्दाखेरि ढुंगाले हान्नुभएछ र यहाँ चोट लाग्यो (निधार देखाउँदै) । त्यसरी उहाँहरुले हानेपछि साधारण जनताले हान्नु हुँदैन उहाँलाई ? उहाँहरुसँग जनता डराएर बस्ने हो ? नेता भनेर ठूलो कुरा गर्ने हो ?’

मोटरसाइकलमा आएकाहरुले गिरीलाई कुटपिट गरेको र गाडीमा आएकाले पनि आक्रमण गरेको ती महिलाको दाबी छ । त्यसपछि मात्र स्थानीयले प्रतिकार गरेको स्थानीय महिलाहरुको भनाइ छ । सुरुमा राहत बाँड्न आएको भनेर उनीहरुले भने पनि गाउँमा राहत नबाँडेको ती महिलाहरु बताउँछन् ।

शाही भन्छन्– मदिराको स्वाद पनि थाहा छैन

ज्ञानेन्द्र शाही भने आफूहरु राहत वितरणकै लागि सुर्खेत पुगेको, तर प्रहरीको संरक्षणमा सत्ता पक्षका व्यक्तिहरुले आक्रमण गरेको दाबी गर्छन् । शाही भन्छन्, ‘मेरो लोकप्रियता देखेर सरकार पक्षबाट प्रहरीको संलग्नतामा ममाथि आक्रमण भएको छ ।’

मदिरा सेवनबारे सोधिएको प्रश्नमा शाही भन्छन्, ‘मैले अल्कोहल सेवन गरेको छैन भनेर मसँग प्रदेश अस्पतालमा गरिएको रिपोर्ट छ । मेरो व्यक्तिगत जीवनको कुरा गर्नु हुन्छ भने मलाई अल्कोहलको स्वाद पनि थाहा छैन ।’

अघि भन्छन्, ‘मेरा समर्थक धेरै छन् । मेरो पपुलारिटी देखेर सत्तापक्षका मान्छे डराएका छन्, गृहजिल्लामा ज्ञानेन्द्र शाहीले हाम्रो राजनीति बर्बाद गरिदिन्छ, हामीले लुट्ने काम बर्बाद गरिदिन्छ । बरु यसलाई यही निस्तेज पार्नुपर्छ भनेर मेरोविरुद्ध लागिरहेका छन् ।’

उनले आफूलाई सुरक्षा ‘थ्रेट’ भएको दाबीसमेत गरे ।

ज्ञानेन्द्र शाहीको विगत

ज्ञानेन्द्र शाहीले भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउने गर्छन्, सरकारी कार्यक्रमहरुमा अनुगमन गर्न भन्दै पुग्छन् । उनको भिडियो युट्युबमा चर्चाको विषय बन्छ । निषेधाज्ञाको बेलामा खाद्यान्न र राहत पनि बाँडेको उनी बताउँछन् ।

यद्यपि उनी बेलाबेलामा विवादमा आउने गर्दछन् । २०७६ जेठमा साइबर अपराधको आरोपमा सुर्खेतबाट पक्राउ परेका थिए । उनले आफूलाई हिरासतमा यातना दिइएको आरोपसमेत लगाए । तर त्यो आरोपको प्रहरीले खण्डन गर्‍यो ।

२०७६ भदौमा नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेपछि उनी थप विवादमा आए । हवाईजहाजलाई कुराएर निर्धारित समयमा उड्न नदिएको भन्दै शाहीको समूहले भट्टराईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरियो । भट्टराईले समयमा हवाईजहाज उड्न नसकेकोमा क्षमा मागेका थिए । सो घटनाबारे जानकारी दिन ललितपुरमा पत्रकार सम्मेलन गर्दा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

२०७६ असोजमा उनीमाथि चितवनको चौबीसकोठीको एक कार्यक्रममा कुटपिट भएको थियो । भ्रष्टाचारविरोधी कार्यक्रम गर्दा तत्कालीन नेकपाका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए ।

शाही आबद्ध भएको एक समूह ‘नेपालको लागि नेपाली अभियान’ले २०७६ मंसिर ११ मा उनलाई निष्कासन गर्‍यो । हाल शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामबाट गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया