Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

महामारीममै रोकियो अछाममा पीसीआर परीक्षण

महामारीममै रोकियो अछाममा पीसीआर परीक्षण

अछाममा पीसीआर परीक्षण बन्द भएको छ । स्वाब परीक्षण गर्ने मेसिन बिग्रिएकाले स्वाब परीक्षण कार्य रोकिएको हो । प्रयोगशालाले एक सूचना जारी गर्दै कोरोना परीक्षण कार्य रोकिएको जनाएको छ।

पीसीआर मेसिनमा समस्या आएका कारण कोरोना परीक्षण बन्द भएको सूचना अधिकारी टेकबहादुर बिष्टले बताए । मेसिन मर्मतका लागि काठमाडौं पठाइएको सूचना अधिकारी बिष्टले बताए । उनले भने, ‘आर्थिक अभाव प्रयोगशालाले झेलिरहेको छ, बजेटको व्यवस्था भए अर्को मेसिन राख्न सकिन्थ्यो, ब्याकअप केही छैन ।’  जिल्लामा एक मात्र पीसीआर प्रयोगशाला हुँदा सहज भएको थियो । तर त्यही प्रयोगशाला बन्द हुँदा कोरोना परीक्षण अनिश्चत बनेको छ ।

आर्थिक अभावमा ब्याकअप उपकरण, विद्युतको भरपर्दो विकल्प नहुँदा एउटै मेसिनले धान्न सक्ने अवस्था नरहेको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि यसअघि जिल्लाका केही मात्र स्थानीय तहले मात्र आर्थिक सहयोग गरेका थिए ।

कमलबजार नगरपालिकाको पहलमा संचालित प्रयोगशालामा आर्थिक समस्या रहेको भन्दै यसअघि जिल्लाका सबै पालिकालाई सहयोग माग गरिएको थियो । रकम उपलब्ध नहुँदा व्यावस्थापन गर्न कठिनाई भएको कमलबजार नगरपालिकाले जनाएको छ । प्रयोगशालामा अछामसहित बाजुरा र दैलेखका केही पालिकाको स्वाब समेत परीक्षण हुने गरेको छ ।

कमलबजारको मेसिन बिग्रिएपछि स्वाब परीक्षणका लागि डडेल्धुरा पठाएको साँफेबगर नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुष्प बुढाले बताए ।

प्रतिक्रिया