Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

रापको विवादास्पद भूमिकामा थप आशङ्का

रापको विवादास्पद भूमिकामा थप आशङ्का

राप अर्थात् राष्ट्रपतिका सम्बन्धमा सामान्यतया कुनै प्रतिक्रियालाई उचित मानिँदैन । अझ नकारात्मक प्रतिक्रियालाई त एक किसिमले वर्जित नै मानिन्छ । देशको सर्वोच्च संस्थाप्रतिको आदर–सम्मानका दृष्टिले यसो भनिएको होला ।

कन्टिर–बाबूका अनुसार देश र जनताका लागि राप साझा अभिभावक संस्था हो । यो संस्था कुनै खास दल र विचारसँग जोडिँदैन । दलीय घरझगडाबाट प्रभावित हुँदैन । तर विडम्बना हामीकहाँ यस्तो अवस्था छैन ।

रापबाट मङ्गलबार सर्वदलीय बैठक आह्वान भएको छ । कन्टिर–बाबूको मनमा खसखस लागिरहेको छ– आखिर यो सर्वदलीय बैठकको उद्देश्य के हो ? अहिलेसम्म कुनै सन्दर्भमा सर्वदलीय बैठकको आवश्यकता नदेखेको रापले अहिले चाहिँ किन यसको आयोजना गर्न खोजेको हो ? कन्टिर–बाबूका मनमा विभिन्न कोण–उपकोणबाट अनेक जिज्ञासा उत्पन्न भएका छन् यतिबेला ।

प्रतिनिधिसभा संसद् असंवैधानिक तरिकाले विघटन हुँदै गर्दा, नानाथरी अध्यादेश ल्याएर सेटिङ राज्य सञ्चालन गर्ने अभ्यास हुँदै गर्दा, असंवैधानिक तरिकाले संवैधानिक नियुक्ति हुँदै गर्दा रापको भूमिका के रह्यो त्यो जगजाहेर नै छ ।

उल्लिखित महत्त्वपूर्ण विषयमा दलहरुसँग छलफल आवश्यक नदेख्ने रापलाई अहिले चाहिँ त्यस्तो के आइपर्‍यो र यो बैठक आयोजना गर्न जरुरी पर्‍यो ? कन्टिर–बाबूले बुझ्न नसकेको कुरो ।

यसअघि पनि रापले सर्वदलीय बैठक बोलाउन चाहेको हो तर कोरोना जोखिमका कारण नबोलाइएको हो भन्ने राप संवाद सचिवालयको तर्क छ । तर कन्टिर–बाबू यो कुतर्क हो भन्ने ठान्छन् । हामीकहाँ दल नै कति छन् र तिनका एक–एक जना प्रतिनिधि भौतिक दुरीसहित उपस्थित गराउन शीतल–निवासको सभाहल साँघुरो भयो ?

भन्नेले त के पनि भन्छन् भने ओल्बाको बल मिच्याइँलाई सहयोग पुर्‍याउन यो बैठक आयोजना गरिएको हो । तर कन्टिर–बाबू यसमा सहमत छैनन् । रापले यस्ता कार्यक्रम निर्वाध गर्न पाउनुपर्छ, यसमा कुनै विवाद छैन तर कुनै खास वर्गको अनुकूलताको मात्र ध्यान राख्नुभएन । रापको भूमिका विवादास्पद देखिनुभएन ।

कन्टिर–बाबू भन्छन्– राप देखिनुपर्छ रापजस्तो, कुनै दलको झोले कार्यकर्ताजस्तो होइन । राज्य सञ्चालक निकायबाट एकपछि अर्को असंवैधानिक काम हुँदै गर्दा संवैधानिक रापले जसो–जसो बाहुन बाजे उसै–उसै स्वाहा गर्न मिल्दैन ।

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया